पञ्चरुपा सहकारीका अध्यक्ष तथा सञ्चालकले ठगे बचतकर्ताको करिब साढे ३ करोड



काठमाडौं । बचतकर्ताको ३ करोडभन्दा बढी रकम ठगेर पञ्चरुपा बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी फरार भएका छन् ।

काठमाडौं पेप्सीकोलामा रहेको सहकारीबाट बचतकर्ताको ३ करोड ३८ लाख ५३ हजार ८५८ रुपैयाँ ठगीमा संलग्न संस्थाका अध्यक्षसहित ९ जनामा ७ जना फरार रहेका छन् भने २ जना पक्राउ परेका छन् ।

सहकारीका अध्यक्ष सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–१४ का पुस्कल रिसाल, उपाध्यक्ष अर्घाखाँची जिल्ला छत्रदेव गाँउपालिका–३ का भुवन सापकोटा, संस्थाका कोषाध्यक्ष भक्तपुर नगरपालिका–३ का राकेश ज्वाख्वा फरार रहेका छन् ।

यस्तै बचतकर्ताको बचत ठगेर फरार रहनेमा संस्थाका सञ्चालक समिति सदस्य नवलपरासी पूर्वजिल्ला कावासोती–१६ का अर्जुन बास्तकोटी, सञ्चालक समितिका सदस्य गोखार जिल्ला पालुङटार नगरपालिका–९ का पुष्प बाबु पाण्डे, सदस्य सिरहा जिल्ला सिरहा नगरपालिका–७ का राज कुमार शाह र सदस्य धादिङ जिल्ला थाक्रे गाँउपालिका–४ का मंगल बहादुर तामाङ फरार रहेका छन् ।

अहिलेसम्म पक्राउ पर्ने २ जनामा संस्थाका सञ्चालक समिति सदस्य कालिकोट जिल्लाको रास्कोट नगरपालिका–८ का धिरेन्द्र बराल र संस्थाका सचिव अछाम जिल्ला पञ्चदेवल विनायक नगरपालिका–७ का पुरन रावल रहेका छन् ।

उनीहरुले सहकारीका बचतकर्तालाई ठगेपछि जिल्ला प्रहरी परिसर टेकुमा उजुरी परेको थियो । उजुरीका आधारमा प्रहरीले अनुसन्धान गरेको जनाएको छ । उनीहरुले बचतकर्तालाई बढी ब्याज दिने प्रलोभनमा पारेर २९ जनालाई ठगेको पाइएको छ ।

सहकारी ठगहरु विरुद्ध ३ करोड ३८ लाख ५३ हजार ८५८ रुपैयाँ बराबरको रकम सहकारी ऐन २०७४ को दफा १२४ को उपदफा (१) (घ) बमोजिम जाहेरवालाहरु तथा बचतकर्ताहरुलाई बिगो दिलाई भराई पाउन माग दाबी रहेको छ ।

यस्तै अपराध पीडित संरक्षण ऐन २०७५ को दफा ४१ बमोजिम कसुरदारबाट पीडित राहत कोषमा क्षतिपुर्ति शुल्क जम्मा गराई पाउन अनुरोध गरिएको छ ।


क्लिकमान्डु