वैदेशिक ऋण परिचालनको प्रगति कमजोर, ७ महिनामा लक्ष्यको २० प्रतिशत रकम आयो



काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनामा लक्ष्यअनुसार वैदेशिक ऋण परिचालन गर्न सरकार असफल भएको छ ।

चालु आर्थिक वर्षमा वैदेशिक ऋणबाट २ खर्ब १२ अर्ब रुपैयाँ वित्तीय स्रोत जुटाउने लक्ष्य राखेको सरकारले फागुन ४ गतेसम्म ४२ अर्ब ३९ करोड रुपैयाँ मात्रै जुटाउन सकेको हो ।

गत वर्ष फागुन ५ गतेसम्म सरकारले वैदेशिक ऋणबाट ४३ अर्ब ७२ करोड रुपैयाँ जुटाउन सकेको थियो ।

वैदेशिक ऋणमा निर्माण भइरहेका परियोजनाको कार्यप्रगति कमजोर हुँदा दातासँग सम्झौता भएर पनि ऋण आउन नसकेको अर्थ मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

‘दाताको सहयोगमा निर्माण भइरहेको बुटवल नारायणघाट सडक, मुग्लिङ पोखरा सडक, कमला कञ्चनपुर सडकमा प्रगति निकै कमजोर छ,’अर्थमन्त्रालयका अधिकारीहरुले भने,‘विकासे मन्त्रालयका साथीहरुको प्राथमिकता वित्तिय स्रोत भएका र वैदेशिक सहायता प्राप्त हुने परियोजनामा खर्च नगरी साना तिना परियोजनामा छ । जसले गर्दा दातासँग भएको सम्झौता अनुसार वैदेशिक ऋण परिचालन हुन नसकेको हो ।’

चालु आर्थिक वर्षमा सरकारले १९ खर्ब ९६ करोड रुपैयाँ नगद ऋण, १८ अर्ब ५६ करोड सोधभर्ना हुने ऋण र ३ अर्ब ८७ करोड सोझै भुक्तानी हुने ऋण लिएको छ ।

सरकारले नगद लिने ऋण आफु अनुकुलका परियोजनामा खर्च गर्न पाउँछ भने सोधभर्ना हुने ऋण र सोझै भुक्तानी हुने ऋण निश्चित परियोजनाका लागि प्राप्त हुन्छ ।

आन्तरिक ऋण लक्ष्यको ६५ प्रतिशत उठ्यो

चालु आर्थिक वर्षको ७ महिनामा वैदेशिक ऋण परिचालनमा प्रगति गर्न नसकेको सरकारले सोही अवधीमा लक्ष्यको ६५ प्रतिशत आन्तरिक ऋण उठाएको छ ।

चालु आर्थिक वर्षमा सरकारले २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको थियो ।

फागुन ४ गतेसम्म १ खर्ब ५५ अर्ब रुपैयाँ ऋण उठाइसकेको छ । आगामी ५ महिनामा अब सरकारले बाँकी रहेको ८५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने छ ।

गत वर्ष सरकारले फागनु ५ गतेसम्म ५३ अर्ब ५७ करोड रुपैयाँ आन्तरिक ऋण उठाएको थियो ।


क्लिकमान्डु