नेपालको जीडीपीभन्दा धेरै छ च्याटजीपीटी बनाउने ओपनएआईको बजार मूल्य



एजेन्सी । प्रविधिको क्षेत्रमा पछिल्लो समय एआईको प्रयोग र चर्चा नौलो होइन ।

हरकोहीलाई अहिले एआईमा भइरहेको विकासको कुराले आकर्षित गरिरहेको हुन्छ । र यहि एआईको क्षेत्रमा क्रान्ति ल्याउने एआईहरुमध्येका च्याटजीपीटी, डाल–ई र सोराजस्ता एआईहरु हुन् ।

यी तीनवटै एआई निर्माण गर्ने मुल कम्पनी भने ओपनएआई हो । एआईको क्षेत्रमा क्रान्ति ल्याउनमा यो कम्पनीको योगदान ठूलो रहेको छ । तर, ओपनएआईको बजार मूल्यांकन कति छ त?

माइक्रोसफ्टको पनि लगानी रहेको ओपन एआईको बजार मूल्य पछिल्लो पटक कम्पनी गरेको सेयरको बिक्रीले ८० अर्ब अमेरिकी डलर पुगेको छ । नेपाली रुपैयाँ यो रकम १०६ खर्ब हुन्छ, जुन नेपालको कुल ग्राहस्थ्र्य उत्पादन (जीडीपी)भन्दा झण्डै दोब्बर हो ।

न्युयोर्क टाइम्सले शुक्रबार सार्वजनिक गरेको रिपोर्टकाअनुसार कम्पनीले आफूसँग रहेका सेयरहरु टेन्डरमार्फत लगानीकर्ता फर्म थ्राईभ क्यापिटलले नेतृत्व गरेको समूहलाई बेच्न लागेको हो ।

उक्त कारोबारमार्फत ओपनएआईमा रहेका कर्मचारीहरुले आफ्नो स्वामित्वको सेयरलाई बेच्न सक्ने गरि कारोबार हुन लागेको न्युयोर्क टाइम्सले जनाएको छ ।

ओपन एआईले गत वर्ष २९ अर्ब अमेरिकी डलर (३८ खर्ब ५१ अर्ब नेपाली रुपैयाँ) बजार मूल्य कायम हुने गरि सेयर कारोबारको तयारी भएको न्युयोर्क टायम्सले जनाएको छ ।

सन् २०२२ को अन्त्यतिर सार्वजनिक भएको ओपनएआईको उत्पादन च्याटजीपीटीसँगै एआईको विषयमा चर्चा निरन्तर चुलिरहेको छ । त्यसपछि कम्पनीले निर्देशनमार्फत तस्बिर निर्माण गर्ने डाल–ई सार्वजनिक गरेको छ भने हालसालै निर्देशनमार्फत भिडियो निर्माण गर्ने सोराको पनि घोषणा गरेको छ ।


क्लिकमान्डु