वास्तविक र कृतिम भिडियो छुट्याउन नसकिने किसिमको एआई सोरा सार्वजनिक



सोरा एआई निर्मित

एजेन्सी । पछिल्लो वर्षहरुमा कृतिम बुद्धिमता (एआई)को चर्चा र उपयोगमा जे जति कामहरु भइरहेका छन्, यसको श्रेय एउटा कम्पनीलाई जान्छ । ओपनएआईले च्याटजीपीटीको सुरुवात गरेसँगै एआईको विषयमा विश्वभरमा नै चर्चा चुलिएको छ भने फरक फरक किसिमका अनुसन्धान र कामहरु भइरहेका छन् ।

निर्देशनको आधारमा लेख्ने, फोटो निर्माण गर्ने लगायतका काम गर्ने विभिन्न र उत्कृष्ट एआईहरु बजारमा छन् । तर, अक्षरात्मक निर्देशन (टेक्स्ट कमान्ड)को आधारमा भिडियो निर्माणमा भने त्यो उत्कृष्टता आइसकेको छैन ।

यो पक्षमा पनि ओपनएआई नै प्रमुख हुने देखिएको छ ।

ओपन एआईले बिहीबार नयाँ एआई उपकरणको घोषणा गर्दै अक्षरात्मक निर्देशनबाट वास्तविकतासँग निकट रहेका भिडियोहरु निर्माण गर्न सकिने जानकारी दिएको छ ।

ओपन एआईले ल्याएको नयाँ एआई नाम सोरा रहेको छ । सोराको अर्थ जापानी भाषामा आकास भन्ने हुन्छ ।

यो एआईले प्रयोगकर्ताले दिने निर्देशन (प्रोम्प्ट)का आधारमा भिडियोहरु निर्माण गर्ने कम्पनीले जनाएको छ । कम्पनीले विभिन्न प्रोम्प्टहरुको प्रयोग गरेर निर्माण गरिएका भिडियोहरु राख्दै यो एआईको घोषणा गरेको हो ।

सोरा एआईद्वारा निर्मित भिडियो

सोरालाई हालका लागि प्रारम्भिक परीक्षणकर्ताहरु माझमा मात्रै सार्वजनिक र उपलब्ध गराइएको हो । यो एआईको प्रयोगबाट हुन सक्ने जोखिम र खतराहरुको मूल्यांकनका लागि सुरुवातमा न्यून संख्याका परीक्षणकर्ताहरुका लागि मात्रै यो एआईलाई उपलब्ध गराइएको ओपन एआईले जनाएको छ ।

सोरा एआईद्वारा निर्मित भिडियो

यसअघि पनि टेक्स्ट प्रोम्प्टका आधारमा भिडियो निर्माण गर्ने एआईहरु नआएका होइनन् । गत अप्रिलमा आएको रनवे एआईले पछिल्लो समय चर्चा पाएको थियो । तर, उक्त एआईको प्रयोगबाट बनेका भिडियोमा ब्लर र स्पष्टताको अभाव देखिएको थिए ।

त्यसको १० महिनापछि ओपन एआईले सार्वजनिक गरेको सोराले भने कुनै हलिउड फिल्मको जस्तै उत्कृष्ट भिडियोहरु एआईकै मद्दतले बनाउन सकिने देखिएको छ । ओपन एआईले राखेका एआईद्वारा निर्मित भिडियोहरु वास्तविक दुनियाँलाई नै कैद गरिएका भिडियो बराबर देखिएका छन् ।

ओपनएआई स्टार्टअप कम्पनी हो, जसले एआईको विकासका लागि काम गरिरहेको छ । सोराबाहेक यसले च्याटबटका रुपमा च्याट जीपीटीमार्फत एआई क्रान्ति ल्याएको थियो भने तस्बिर सिर्जना गर्ने डाल-ई पनि यहि कम्पनीको उत्पादन हो ।

सोरा एआईद्वारा निर्मित भिडियो


क्लिकमान्डु