माइक्रोसफ्टदेखि टेस्लासम्म: यी हुन् विश्वका ठूला १० कम्पनी, कति छ बजार पुँजीकरण ?



एजेन्सी । बजार पुँजीकरणको आधारमा सन् २०२४ मा प्रबिधी कम्पनीहरु अगाडि रहेका छन् । यसैक्रममा बजारको बलियो टेको पाएका कारण सन् २०२४ को सुरुवातमा प्रविधि कम्पनी माईक्रोसफ्ट विश्वकै सबैभन्दा ठूलो कम्पनी बनेको छ ।

लामो समयदेखि प्रतिस्पर्धीका रुपमा रहेको एप्पललाई वर्षको पहिलो महिना जनवरीमा पछि पार्दै माईक्रोसफ्ट ३० खर्ब अमेरिकी डलर बजार पुँजीकरणको कम्पनी बनेको छ ।

सेयर बजारमा प्रविधि सम्बन्धी कम्पनीहरु विश्वकै ठूला कम्पनीहरुका रुपमा हाबी भईरहँदा केही तेल, बिमा, मेडिकल कम्पनी, भुक्तानी प्रणाली र लक्जरी ब्राण्डहरुजस्ता अन्य क्षेत्रका कम्पनीहरुको पनि उपस्थिति देखिएको छ ।

तर, विश्वका ठूला १० कम्पनीहरुमध्येमा सात कम्पनीहरु भने प्रविधि सम्बन्धि कम्पनीहरु नै रहेका छन् ।

माइक्रोसफ्ट विश्वकै सबैभन्दा ठूलो कम्पनी

विश्वभरमा सबैभन्दा धेरै चलाईने कम्प्युटर अपरेटिंग सिस्टम माईक्रोसफ्टकै विन्डोज नै हो । स्टेटकाउन्टरका अनुसार विश्वमा ७० प्रतिशतभन्दा धेरै कम्पनीहरुले विन्डोज अपरेटिंग सिस्टमको प्रयोग गर्छन् ।

त्यसैको आधारमा माईक्रोसफ्ट हालै विश्वको सबैभन्दा ठूलो कम्पनी बनेको छ । सन् १९७५ मा सुरु भएको माईक्रोसफ्टको फेब्रुअरी १मा बजार पुँजीकरण २९ खर्ब ५० अर्ब अमेरिकी डलर रहेको छ ।

मुख्य गरि कम्प्युटर अपरेटिंग सिस्टम नै व्यापारको पाटो भएपनि माईक्रोसफ्टले प्रविधिका क्षेत्रमा अन्य विविध प्रोडक्ट र सेवाहरुमा पनि आफूलाई विस्तार गरेको कारण सफलताको शिखरमा पुगेका बताइन्छ ।

माईक्रोसफ्ट अफिस स्विट सफ्टवेयर (माईक्रोसफ्ट वर्ड, एक्सेल इत्यादी), एजुर क्लाउड प्रोग्राम, एक्सबक्स भिडियो गेम कन्सोल, सर्फेस कम्प्युटर र ल्यापटपलगायतका विभिन्न अन्य उत्पादनहरु पनि माईक्रोसफ्टले गर्दै आएको छ ।

पछिल्लो समय माईक्रोसफ्टले आफ्नो लगानीलाई विस्तारीत गर्दै कृतिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टिलिजेन्स)को क्षेत्रमा पनि लगानी गरिरहेको छ । कम्पनीले च्याटजिपिटी बनाउने कम्पनी ओपन एआईमा १० अर्ब अमेरिकी डलर लगानी गरेको छ भने आफ्नै एआई पावर्ड डिजिटल सहायकका रुपमा माईक्रोसफ्ट कोपाईलटको पनि सुरु गरेको छ ।

दोस्रोमा एप्पलः कति छ बजार पुँजीकरण?

विश्वकै अर्को ठूलो बजार पुँजीकरण भएको कम्पनीका रुपमा आईफोन, म्याकबुकलगायतका उपकरण निर्माता एप्पल रहेको छ । आफ्नो प्रिमियम उत्पादनका कारण एप्पल विश्वकै ठूलो कम्पनीको सूचिमा दोस्रो नम्बरमा रहेको हो ।

अमेरिकी स्टक एन्सचेन्ज नासड्याककाअनुसार एप्पलको बजार पुँजीकरण फेब्रुअरी १ मा २८ खर्ब ५० अर्ब अमेरिकी डलर रहेको छ ।

माईक्रोसफ्ट सुरुवात भएको एक वर्षपछि सन् १९७६ मा स्थापना भएको एप्पल आफ्ना उच्च गुणस्तरका उत्पादनहरुका कारण चर्चित छ । उत्पादनहरु गुणस्तरीय हुनुले ग्राहकहरु ब्राण्डप्रति कति इमान्दार हुन्छन् भन्ने कुराको उदाहरण एप्पल रहेको छ ।

कम्पनीका तत्कालीन सिइओ तथा संस्थापक स्टिभ्स जब्सले राजीनामा दिनुभन्दा १५ दिनअघि एप्पल सन् २०११ अगस्ट ९ बाट विश्वकै सबैभन्दा ठूलो कम्पनी बनेको थियो । र यो कम्पनीले उक्त स्थान पछिल्लो दशकभर ओगटेको थियो ।

हालसालै मात्र माईक्रोसफ्टले एप्पलाई उछिनेको होे । एप्पल यस्तो कम्पनी हो, जुन १० खर्ब, २० खर्ब र ३० खर्ब बजार पुँजीकरण बनाउने पहिलो कम्पनी बनेको थियो ।

एप्पलको सफलताको पछाडि यसका विश्वभर चर्चित रहेका आईफोन, म्याकबुक र एयरपोडजस्ता उत्पादनहरु हुन् । यो सँगै कम्पनीले मिक्स्ट रियालिटी हेडसेट एप्पल भिजन प्रो हालसालै सार्वजनिक गरेको छ । त्यसबाहेक कम्पनीले एप्पल टिभि प्लसजस्ता स्ट्र्मििंगका सेवाहरुमा पनि आफ्नो व्यवसायलाई विस्तार गरेको छ ।

२० खर्ब बजार पुँजीकरण भएको साउदी अरबियन ओयल

विश्वकै ठूलो कम्पनीको सूचिको तेस्रो नम्बरमा प्रविधि क्षेत्रको नभई तेल कम्पनी रहेको छ । अहिलेको अवस्थामा विश्वको अर्थतन्त्र, व्यापारदेखि हरेक पक्षका लागि प्रमुख रहेको पेट््रोलियम पदार्थको उत्पादन तथा बिक्री गर्ने साउदी अरबियन ओयल तेस्रो स्थानमा रहेको हो ।

१९३३ मा सुरु भएको यो कम्पनीलाई साउदी आर्मको नामले पनि चिनिन्छ । यो कम्पनी उर्जा तथा केमिकल कम्पनी हो, जसको स्वामित्व साउदी अरबको सरकारसँग छ । यो कम्पनी आजको दिनमा सबैभन्दा धेरै दैनिक तेल उत्पादन गर्ने कम्पनी हो भने दोस्रो ठूलो कच्चा तेलको रिजर्भ रहेको तेल कम्पनी हो ।

फेब्रुअरीमा साउदी अरबियन ओयलको बजार पुँजीकरण २० खर्ब अमेरिकी डलर रहेको छ ।

कम्पनीको व्यापार तथा बजार पुँजीकरण प्रमुख गरि तेलको मूल्यमा आधारित भएका कारण उतारचढाव भइरहेको हुन्छ । सन् २०२२ मा तेलको मूल्यमा निकै उतारचढाव भएको थियो । सन् २०२२ को मे महिनामा कम्पनीले एप्पल र माईक्रोसफ्टलाई नै पनि पछि पार्दै विश्वकै शीर्ष कम्पनीको सूचीमा उक्लेको थियो ।

साउदी अरबियन ओयलले आफ्नो पोर्टफोलियोलाई विविधीकरण गर्नका लागि पछिल्लो समय पेट््रोलियम पदार्थबाहेक एलपिजीसम्बन्धी कम्पनी मिडओसन इनर्जीमा पनि लगानी गरेको छ ।

गुगलको माउ कम्पनी अल्फाबेट चौथो स्थानमा

विश्वभरमै प्रयोग हुने सर्च इन्जिन गुगलको माउ कम्पनी अल्फोट विश्वकै चौथो ठूलो कम्पनी हो । यो कम्पनीको बजार पुँजीकरण फेब्रुअरी १ मा १७ खर्ब ७० अर्ब अमेरिकी डलर रहेको छ ।

अल्फाबेटलाई सन् २०१५ मा गुगलले होल्डिंग कम्पनीका रुपमा सुरु गरेको थियो । अल्फाबेटसँग गुगलबाहेक ईमेल सेवा दिने जिमेल, भिडियो साइट युट्युब, म्याप, पिक्सेल स्मार्टफोनलगायतको उत्पादनहरु प्नि रहेका छन् ।

ईकमर्स प्लेटफार्म अमेजोन पाँचौ नम्बरमा

विश्वकै ठूलो ईकमर्श प्लेटफर्म अमेजोन पाँचो ठूलो कम्पनी रहेको छ ।

अनलाईन बुकस्टोरका रुपमा सुरु भएको अमेजोन पछिल्लो समय विश्वकै सबैभन्दा ठूलो अनलाईन खुद्रा बिक्रेता कम्पनी हो । विश्वभर गरेर कम्पनीमा २० करोड प्रयोगकर्ता रहेका छन् । कम्पनीको सुरुवात सन् १९९४ मा भएको थियो ।

अमेजोनको हालको बजार पुँजीकरण १६ खर्ब रुपैयाँ रहेको छ ।

अमेजोन ईकमर्श व्यवसाय गर्ने कम्पनीसँगै विश्वकै ठूलो क्लाउड सेवा प्रोभाइडर पनि हो । अमेजोन वेभ सर्भिसमार्फत कम्पनीले सेवा दिने गर्छ । यसका साथै कम्पनीले आफ्नै अमेजोन प्राइम भिडियो स्ट््िरमिंग सेवा पनि दिँदै आएको छ ।

जिपियु बनाउने एनभिडियाको बजार पुँजी कति?

छैटौं नम्बरमा छ ग्राफिक्स प्रोसेसिंग युनिट (जिपियु) बनाउने कम्पनी एनभिडिया । सन् १९९३ मा सुरु भएको एनभिडियाले कम्प्युटर तथा भिडियो गेमका लागि जिपियु निर्माण तथा विकास गर्ने गर्छ ।

हालको समयमा एनभिडियाको जिपियु मुख्य गरि क्रिप्टोकरेन्सी माईनिंगका लागि प्रयोग हुँदै आएको छ । हाल एनभिडियाले आफूलाई एआई हार्डवेयर र सफ्टवेयरको क्षेत्रमा पनि विविधीकरण गर्न थालेको छ ।

जिपियुको बजार पुँजीकरण फेब्रुअरी १ मा १५ खर्ब २० अर्ब अमेरिकी डलर रुपैयाँ रहेको छ ।

फेसबुकको माउ कम्पनी मेटा सातौं नम्बरमा

सर्वाधिक चलाईने सामाजिक सञ्जाल फेसबुकको माउ कम्पनी मेटा विश्वकै ठूला कम्पनीहरुमध्ये सातौ नम्बरमा पर्छ ।
फेसबुकले आफूलाई रिब्रान्ड गर्दै सन् २०२१ मा मेटा नाम राखेको थियो । भर्चुअल रियालिटी अर्थात मेटाभर्सतर्फ प्रविधिको क्षेत्रको ध्यान गईरहेको बखत फेसबुकले भने आफ्नो नामलाई नै मेटा राखिदिएको थियो ।

सन् २००४ मा सुरु भएको फेसबुकको अहिलेको बजार पुँजीकरण हेर्ने हो भने १० खर्ब अमेरिकी डलर रहेको छ ।
मेटासँग फेसबुकमात्रै नभएर सामाजिक सञ्जालको दुनियाँका ठूला ठूला कम्पनीहरु पनि छन् । इन्स्टाग्राम, ह्वाट्सएप र म्याजेन्जरमा पनि मेटाकै स्वामित्व छ । कम्पनीले मुख्य आम्दानी भने विज्ञापनमार्फत गर्छ, जुन उसको आम्दानीको ९८ प्रतिशत हो ।

सेयर गुरु वारेन वफेटको वर्कशायर ह्याथवेको बजार पुँजीकरण कति?

सेयर बजारका बादशाहका रुपमा चिनिन्छिन् लगानीकर्ता वारेन बफेट । विश्वकै सफल लगानी कर्ता हुन उनी । उनको कम्पनी वर्कशायर ह्याथवे विश्वकै आठौं ठूलो कम्पनी हो ।

कम्पनीको सुरुवात सन् १८३९ मा भएको थियो । सुरुवातमा टेक्सटायल कम्पनीका रुपमा सुरु भएको वर्कशायर ह्याथवेमा वफेटले सन् १९६२ बाट लगानी गर्न सुरु गरेका थिए । र सन् १९६५ मा उनले बहुमत सेयरमाथि नियन्त्रण कायम गरेका थिए ।
बफेटले त्यसपछि कम्पनीको अध्यक्ष र सिइओको रुपमा काम गरेका छन् । त्यसपछि भने सन् १९७० मा कम्पनीलाई होल्डिंग कम्पनीका रुपमा रुपान्तरण गरिएको थियो ।

वर्कशायर ह्याथवेको हालको बजार पुँजीकरण ८ खर्ब ३४ अर्ब ६६ करोड रहेको छ ।

औषधी कम्पनी ईलि लिल्ली नवौं नम्बरमा
सन् १८७६ मा सुरु भएको ईली लिल्ली विश्वकै ठूलो मध्येको एक फार्मास्युटिकल कम्पनी हो । अमेरिकी आर्मि भेटरान तथा केमिस्ट इलि लिल्लीको नाममा सुरु भएको यो कम्पनीको मुख्य आम्दानीको स्रोत डायबेटिजको औषधी, पोलियो भ्याक्सिन तथा विभिन्न इन्सुलिनहरु रहेका छन् । यो कम्पनीले अन्य थुप्रै किसिमका औषधीहरुको पनि उत्पादन गर्दै आएको छ ।

ईलि लिल्ली गत वर्षअघिसम्म शीर्ष २० कम्पनीको सूचीभन्दा बाहिर थियो । तर, कम्पनीले गत वर्ष सन् २०२३ मा सिगिलोन थेराप्युटिक्स, भेर्सानिस बायो र डाइस थेराप्युटिकसलाई अधिग्रहण गरेसँगै यो कम्पनीको स्थान उक्लिएको छ ।

एलन मस्कको टेस्ला १० औं ठूलो कम्पनी, कति छ बजार पुँजीकरण?

विश्वचर्चित अर्बपति व्यवसायी एलन मस्कको कम्पनी टेस्ला विश्वकै ठूला कम्पनीहरुको सूचिमा १० औं नम्बरमा पर्छ । विद्युतीय गाडीहरुको चर्चा र उपयोग विश्वभर नै चुलिँदै गइरहेको बेला टेस्ला विश्वकै शीर्ष विद्युतीय गाडी निर्माता कम्पनीका रुपमा रहेको छ ।

टेस्ला विश्वकै सबैभन्दा महत्वपूर्ण गाडि निर्माता कम्पनी हो । यो कम्पनीको मोडल वाई गाडी गत वर्ष विश्वकै उत्कृष्ट बिक्री भएको गाडी थियो । वर्षौंको प्रतिक्षा पछि कम्पनीले गत वर्ष नोमेम्बर ३० मा नयाँ साइबर ट््रकका १० वटा युनिटहरु पनि डेलिभर गरेको छ ।

सन् २००३ मा सुरु भएको टेस्लाको बजार पुँजिकरणको कुरा गर्दा ५ खर्ब ९६ अर्ब ४८ करोड अमेरिकी डलर रहेको छ ।
विद्युतीय गाडीसँगै टेस्लाले सोलारका छत, सोलार प्यानल र पावरवालहरुको पनि उत्पादन गर्ने गरेको छ ।


क्लिकमान्डु