प्रधानमन्त्रीसँग कुनै विवाद छैन, अर्थले बजेट कटौती गरेको छैन: अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले संसद्‍ले पारित गरेको बजेट अर्थ मन्त्रालयले घटाउन नसक्ने बताए छन् ।

माघ २९ गते अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा १५ खर्ब ३० अर्ब रुपैयाँ खर्च हुन सक्ने अनुमान गर्दै अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गरेपछि बजेटको आकार घटाएको भन्दै आलोचना भएपछि शुक्रबार पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री महतले अर्थ मन्त्रालयले बजेटको आकार नघटाएको बताए ।

सरकारले गत जेठ १५ गते १७ खर्ब ५१ अर्बको बजेट सार्वजनिक गरेको थियो । अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै अर्थ मन्त्रालयले १५ खर्ब ३० अर्ब रुपैयाँ खर्च हुन सक्ने संशोधित लक्ष्य सार्वजनिक गरेको थियो ।

‘बजेट कटौति गर्ने अर्थ मन्त्रालयको कुनै सोच छैन । माघ मसान्तसम्म भएको आम्दानी र खर्चका आधार संशोधित लक्ष्य सार्वजनिक गरिएको हो,’ अर्थमन्त्री डा महतले भने, ‘म चाहन्छु हामीले अनुमान गरेभन्दा बढी खर्च होस् । हामीले अनुमान गरेभन्दा बढी राजस्व संकलन होस् ।’

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऎनको व्यवस्थाअनुसार अर्थ मन्त्रालयले बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गरिएको मन्त्री महतले बताए ।

केही सञ्चार माध्यममा प्रधानमन्त्रीसँग छलफल नगरी अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गरिएको भन्दै सम्प्रेषण भएका समाचार झुटा भएको महतले बताए ।

‘प्रधानमन्त्रीसँग केही विषयमा फरक मत हुनु स्वभाविक हो । छलफलका क्रममा हामीले फरक विचार राख्छौं,’ महतले भने, ‘तर, अर्थ मन्त्रालयले प्रधानमन्त्रीसँगको छलफल र प्रधानमन्त्रीले दिने निर्देशनका आधारमा काम गरिरहेको छ ।’


क्लिकमान्डु