ललिता निवास प्रकरण: अख्तियारका पूर्वप्रमुख बस्न्यात र पूर्वसचिव पन्तलाई २ वर्ष कैद र ८० लाख जरिवाना



काठमाडौं । विशेष अदालतले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यात र भूमिसुधार मन्त्रालयका पूर्वसचिव छविराज पन्तमाथि दुई वर्ष कैद सजाय र ८० लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको छ ।

सर्वोच्च अदालतको फैसलाको गलत व्याख्या गरेर मोही कायम गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरेको विशेषको ठहर छ ।
कानुनविपरित नीतिगत निर्णय भन्दै मन्त्रिपरिषद्मा प्रस्ताव पेश गरेकै आधारमा उन्मुक्ति दिन नसकिने विशेषको फैसला छ ।

लगातार २३ दिनसम्मको सुनुवाइपछि विशेष अदालतले बिहीबार ललिता निवास प्रकरणमा फैसला गर्दै सर्वोच्च अदालतको फैसलाको गलत व्याख्या गर्दै समरजंग कम्पनीको जग्गामा मोही खडा गरिएको जनाएको हो ।

बिहीबार विशेष अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले सर्वोच्चको आदेशको गलत व्याख्या गर्दै मन्त्रिपरिषद्मा वद्नियतका साथ प्रस्ताव लगिएको ठहर गरेको हो ।

समरजंग कम्पनीमा रहेको १९ रोपनी १५ आना २ पैसा सरकारी जग्गामा मोही खडा गरिएको फैसलामा भनिएको छ ।


क्लिकमान्डु