बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजाने कर्मचारी र विचौलिया दोषी ठहर



काठमाडौं । बालुवाटारस्थित ललिता निवास सरकारी जग्गा हिनामिनासम्बन्धी भ्रष्टाचार प्रकरणमा विशेष अदालतले फैसला सुनाएको छ । लगातार २३ दिनसम्मको सुनुवाइपछि विशेष अदालतले बिहीबार आदेश गरेको हो ।

उक्त मुद्दा विशेषका न्यायाधीशहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले आदेश गरेको हो ।
विशेष अदालतले सरकारी जग्गा व्यक्तिको नाममा दाखिल गर्ने कलाधर देउजासहित मालपोत कार्यालय डिल्लीबजारका कर्मचारीहरुलाई दोषी ठहर गरेको छ ।

सो जग्गा व्यक्तिको नाममा ल्याउन भूमिका खेल्ने रामकुमार सुवेदी,शोभाकान्त ढकाल लगायतलाई पनि अदालतले दोषी ठहर गरेको छ । कलाधर देउजासहितका आरोपीलाई २ वर्ष कैद र ७५ लाख जरिवानाको फैसला इजलासले गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ मा ललिता निवासको १ सय ३६ रोपनी जग्गा हिनामिना अभियोगमा पूर्वउपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारसहित १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।


क्लिकमान्डु