युक्रेनविरुद्ध लड्दा मृत्यु भएका नेपालीलाई रुसले क्षतिपूर्ति दिने, जनही ९१ लाख दाबी



काठमाडौं । लामो रस्साकस्सीपछि रुसी सेनामा भर्ना भइ युक्रेनविरुद्ध लडेर जीवन गुमाएका नेपालीका परिवारलाई क्षतिपूर्ति दिन रुस सहमत भएको छ।

युक्रेनसँगको लडाइँमा ज्यान गुमाएका नेपालीका परिवारलाई क्षतिपूर्ति दिन रुस तयार भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मस्कोमा रहेको नेपाली दूतावासमार्फत परिवारलाई क्षतिपूर्ति पठाउन रुस सहमत भएको सूचना आएको छ ।

मन्त्रालयकाअनुसार परराष्ट्र मन्त्रालय हुँदै सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट मृतकका परिवारलाई क्षतिपूर्ति दिने गरी छलफल भइरहेको छ ।

मन्त्रालयले रुससँग मृतकका हकमा जनही ९० लाख ८१ हजार ६ सय रुपैयाँ र घाइतेका हकमा जनही ४१ लाख ५१ हजार ६ सय रुपैयाँ माग गर्दै पत्रचार गरेको थियो । मन्त्रालयले कति रकम बराबरको क्षतिपूर्ति पाउँछन् भन्ने यकिन भइनसकेको बताए पनि रुसी सेनामा मृत्यु भएको व्यक्तिका परिवारले क्षतिपूर्तिबापत जनही ९१ लाख रुपैयाँ दाबी गरेका छन् ।

हालसम्म कति नेपाली युवा रुसी सेनामा भर्ना भएका छन् भन्ने यकिन तथ्यांक छैन । अमेरिकी समाचार संस्था सीएनएनले १५ हजारभन्दा बढी नेपाली रुसी सेनामा भर्ती भएको र २ सय जनाभन्दा बढी घाइते भएको समाचार दिएको छ ।

‘दूतावासको पहलमा रुसी सेनामा भर्ती भएको स्वीकार्दै मृतक परिवारलाई क्षतिपूर्ति दिन रुस सहमत भएको छ,’ मन्त्रालयले जनाएको छ, रुसी सेनामा कति नेपाली कार्यरत छन् भन्ने यकिन विवरण छैन । त्यसैले विवरण पनि मागेका छौँ ।’

नेपाली दूतावासले मृतकका परिवारसँग समन्वय गरेर मृतकको पहिचान र सम्बन्ध खुलाउने कागजात पठाएपछि क्षतिपूर्ति आउने मन्त्रालयले जनाएको छ ।

हालसम्म रुस सरकारले रुसी सेनाका कार्यरतमध्ये १० जना नेपालीको मृत्यु भएको विवरण परराष्ट्र मन्त्रालयलाई पठाएको छ । तर, थप चार जनाका बारेमा केही विवरण पठाएको छैन।

रुसमा रहेका परिवारका सदस्यलाई स्वदेश फर्काउन पहलका लागि माग गर्दै तीन सयजनाभन्दा बढी परिवारले कन्सुलर सेवा विभागमा निवेदन दिएको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।

रुसी सेनामा कार्यरतमध्ये तीन दर्जनभन्दा बढीको मृत्यु भएको भन्दै शव ल्याइदिन माग गर्दै परिवारका सदस्यले निवेदन दिएका भन्दै मन्त्रालयले मृत्यु भएको अनुमानसहित निवदेन आएका कारण यसै भन्न सक्ने अवस्था नभएको जनाएको छ ।

यसअघि क्षतिपूर्ति पठाउन तयार भए पनि युद्धमा मारिएका नेपालीको शव पठाउन भने रुस सरकारले आनाकानी गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको थियो ।

परराष्ट्रले रुसी सेनामा भर्ती भई मृत्यु भएका नेपालीहरूको क्षतिपूर्ति माग गर्दै रुस सरकारलाई तीन महिना अघि नै औपचारिक पत्र पठाएको थियो । यसबीचमा रुस-युक्रेन युद्धमा लड्ने क्रममा १४ नेपाली नागरिकहरूको मृत्यु भइसकेको मन्त्रालयले पुष्टि गरेको छ।


क्लिकमान्डु