सामूहिक खेती गर्ने किसानले पनि छुट्टाछुट्टै दुर्घटना बिमा गराउनुपर्ने



काठमाडौं । अब सामूहिक खेती गर्ने किसानले छुट्टाछुट्टै दुर्घटना बिमा गर्नुपर्ने भएको छ । नेपाल बिमा प्राधिकरणले दुर्घटना बिमा सम्बन्धि ८ बुँदे निर्देशन जारी गर्दै सामूहिक खेती गर्ने किसानको दुर्घटना बिमा छुट्टै गनुपर्ने व्यवस्था गरेको हो ।

प्राधिकरणको निर्देशनअनुसार अब सामूहिक खेती गर्ने किसानले खेतीको बिमा संयुक्त रुपमा गर्न पाए पनि स्वयंको दुर्घटना बिमा भने संयुक्त रुपमा गर्न पाउने छैनन् । प्रत्येक किसानले दुर्घटना बिमा छुट्टै गर्नुपर्नेछ ।

निर्देशनमा बिमालेखको अवधिभित्र वा बढीमा एक वर्षभित्र किसानले आत्महत्या बाहेक अन्य कुनै दुर्घटना भई मृत्युबरण गरेमा, स्थायी वा पूर्णरुपमा अशक्त भएमा, एक वा दुवै हातको नाडीदेखि माथि पूरै हात काम नलाग्ने भएमा, एक वा दुवै खुट्टाको गोलीगाँठोदेखि माथि पूरै खुट्टा काम नलाग्ने भएमा र दुवै आँखाको दृष्टि गुमेमा बिमा बापतको दाबी भुक्तानी पाउने उल्लेख गरेको छ ।

यस्तो बिमाका लागि कृषि, पशुपन्क्षी तथा जडीबुटी बिमालेख बमोजिम बीमा गर्ने कृषकले न्यूनतम २ लाख रुपैयाँ बराबरको बिमा गर्नुपर्नेछ । कृषकले २ सय रुपैयाँ बिमाशुल्क तिरेर यो बिमालेख खरिद गर्न सक्नेछन् ।
यस्तो बिमा अवधि थोरैमा एक वर्षको रहनेछ ।

प्राधिकरणले एकभन्दा बढी पटक कृषि, पशुपन्क्षी तथा जडीबुटी बिमालेख लिने कृषकलाई दुर्घटना बिमा लिन अनिवार्य गरेको छैन । एक पटक यस्तो बिमा गरेपछि किसानले सो अवधिभर पुनः बिमा गरिरहनु नपर्ने निर्देशनमा उल्लेख छ।


क्लिकमान्डु