२० बैंकलाई सम्पत्ति शुद्धीकरणको पत्र: रवि लामिछाने र जीबी राईको खाताको सम्पूर्ण विवरण माग



काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र ग्यालेक्सी फोर के टेलिभिजनका सञ्चालक जीबी (गितेन्द्रबाबु) राईमाथि छानबिन सुरु गरेको छ ।

राई सञ्चालक रहेको ग्यालेक्सी फोरके टेलिभिजनमा लामिछाने प्रबन्ध निर्देशकको भूमिकामा थिए । पछिल्लो समय राई र रविविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा समेत सहकारी ठगीको विषयमा उजुरी परेको छ ।

लामिछाने र विभिन्न सहकारीबाट बचतकर्ताको बचत अपचलन गरेका टेलिभिजनका सञ्चालक राईमाथि विभागले अनुसन्धान सुरु गरेको हो ।

विभागले लामिछाने र राईको सम्पत्ति छानबिन गर्नका लागि सञ्चालकन रहेका २० वटा वाणिज्य बैंकलाई पत्राचार गरेको छ ।

सुद्धीकरण विभागले सबै वाणिज्य बैंकलाई माघ दोस्रो साता पत्र पठाउँदै लामिछाने र राईको विवरण माग गरेको छ । विभागले माघ ८ गते नेपाल, राष्ट्रिय वाणिज्य, नबिल, नेपाल इन्भेष्टमेन्ट मेगा, स्टयाण्डर्ड चार्टर्ड, हिमालयन, एसबीआई, एभरेष्ट, एनआईसी एशिया, कुमारी, लक्ष्मी सनराइज, सिद्धार्थ, कृषि विकास, ग्लोबल, सिटिजन्स, प्राइम, प्रभु, सानिमा र माछापुच्छ्रे बैंकलाई पत्राचार गर्दै दुवै जनाको अहिलेसम्मको बैंकिङ कारोबारको विवरण उपलब्ध गराउन भनेको छ ।

विभागले बैंकहरुलाई लेखेको पत्रमा भनिएको छ,‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) सम्बन्धी कसुरको जाँचबुँझको सिलसिलामा आवश्यक परेको हुँदा तहाँ बैंकहरुकमा निम्न व्यक्तिहरुको नाममा कुनै किसिमको खाता छ, छैन ? भए के कुन प्रकारको खाता रहेको छ ? खाता विवरण, खाता खोल्दाको बखत पेश भएको कागजानहरु र हालको मौज्दात समेतको सफ्ट कपी एक्सेल सिट मा यस विभागको इमेल ठेगाना मार्फत अनिवार्य रुपमा पठाई दिनुहुन अनुरोध गरिएको छ । साथै निजहरुले त्यहाँ बैंकहरुबाट ऋण लिएको भए सोको विवरण तथा ऋण लिँदा पेश गरेको सम्पूर्ण कागजानहरुको प्रमाणित प्रतिलिपी समेत यस विभागको इमेल ठेगानामा पठाई अनुसन्धान कार्यमा सहयोग गरिदिनुहुन अनुरोध गरिएको छ ।’

रवि र जिबी जोडिएको सहकारीको फाइल अहिले केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गरिरहेको छ । सहकारी ठगीमा संलग्न रहेका राईविरुद्ध प्रहरीले डिफ्युजन नोटिस जारी गरेको छ ।

रवि र जिबी जोडिएको सूर्यदर्शन सहकारीले कास्कीमा मात्रै १९ हजारभन्दा बढी बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप छ ।


क्लिकमान्डु