प्रिमियममा आईपीओ ल्याएको सोनापुरको व्यापार निरन्तर घट्दो, ५७ करोडले घट्यो कारोबार



काठमाडौं । हालसालै प्रिमियम मूल्यमा आईपीओ निकालेको कम्पनी सोनापुर मिनरल्स एण्ड ओयल लिमिटेडको व्यापारमा लगातार दोस्रो वर्ष पनि कमी आएको छ ।

सोनापुरले गत साउनमा कम्पनीको तत्कालीन पुँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँमध्ये ४० प्रतिशत हुने गरि १ करोड २३ लाख २०० कित्ता साधारण सेयर सर्वसाधरणका लागि निस्कासन गर्न अनुमति पाएको थियो ।

कम्पनीले सर्वसाधारणका लागि अंकित मूल्य १२५ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता २२५ रुपैयाँमा आईपीओ निष्काशन गरेको थियो ।

आईपीओ निकालेको कम्पनीको सन् २०२२ को तुलनामा सन् २०२३ को व्यापारमा कमी आएको हो । कम्पनीले सन् २०२३ मा सन् २०२२ को तुलनामा ५७ करोड ४० लाख कम व्यापार गरेको छ ।

सन् २०२० मा २ अर्ब ६६ करोड ९० लाख रुपैयाँको व्यापार गरेको सोनापुर मिनरल्सको सन् २०२१ को व्यापारमा उच्च वृद्धि भएको थियो । कम्पनीले सन् २०२१ मा २ अर्ब ९२ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो । तर, सन् २०२२ पछि भने कम्पनीको व्यापारमा निरन्तर कमी आइरहेको छ ।

सन् २०२२ मा कम्पनीको व्यापार २ अर्ब ३७ करोड ५० लाख भएको थियो । गत वर्ष सन् २०२३ मा कम्पनीको व्यापारमा थप ५७ करोड ४० लाखले कमी आउँदै १ अर्ब ८० करोड १० लाखमा सीमित भएको छ ।

कम्पनीको ब्याज, कर, मूल्यह्रास र परिशोधनअघिको आम्दानी (एबिटडा मार्जिन)मा भने सन् २०२२ को तुलनामा केही वृद्धि भएको छ । सन् २०२० मा २३.३८ प्रतिशत, सन् २०२१ मा २२.४० प्रतिशत र सन् २०२२ मा १८.९८ प्रतिशत रहेको कम्पनीको एबिट्डा मार्जिन सन् २०२३ मा भने १९.६३ प्रतिशत रहेको छ ।

सन् २००८ मा खुलेको सोनापुर मिनरल्स एण्ड ओयल प्रालि सन् २०२२ मा सोनापुर मिनरल्स एण्ड ओयल लिमिटेडमा रुपान्तरण भएर पब्लिक कम्पनी बनेको थियो । कम्पनीले सोना सिमेन्ट र सोना श्री सिमेन्टका नाममा सिमेन्टको उत्पादन तथा बिक्री गर्दै आएको छ । कम्पनीका कार्यकारी निर्देशक निपेश तयाल रहेका छन् ।

कम्पनीले हाल आफ्नो क्लिंकर युनिटको क्षमतालाई १२५० टिपिडीबाट १६५० टीपीडी बनाउने तयारी गरिरहेको छ । त्यस्तै, कम्पनीले भर्टिकल रोलर मिल राख्नका लागि पनि काम गरिरहेको छ । सन् २०२४ को जुलाईमा सम्पन्न हुने यो निर्माणले सिमेन्ट उत्पादनको प्रक्रिणलाई थप सहज बनाउने र उत्पादकत्व वृद्धि गराउने बताइएको छ ।

कम्पनीले हाल ७ अर्ब ४२ करोड ३३ लाख रुपैयाँको ऋण लिनका लागि रेटिङ गराएको छ । जसमा रेटिङ एजेन्सी इन्फोमेरिक्सले सोनापुरलाई ५ अर्ब ४२ करोड ९३ लाख रुपैयाँको दीर्घकालीन कर्जा सुविधाका लागि त्रिपल बि माईनस र १ अर्ब ९९ करोड ४० लाख रुपैयाँको अल्पकालीन कर्जा सुविधाका लागि एथ्रि रेटिङ दिएको छ ।

रेटिङ एजेन्सीले कम्पनीसँग पुँजीको उपलब्धता भए पनि आयोजना सम्पन्न भएपछि त्यसको कार्यान्वयन र सन्तोषजनक सञ्चालनमा जोखिम रहेको बताएको छ ।


क्लिकमान्डु