आजबाट बन्द भयो गोपीकृष्ण हल, ६ अर्ब बढीको लगानीमा गोपीकृष्ण सेन्टर कम्प्लेक्स बन्दै



काठमाडौं । राजधानीको चाबहिलस्थित गोपीकृष्ण हल मंगलबारदेखि औपचारिक रुपमा बन्द भएको छ । सञ्चालक गोपीकृष्ण मुभिज् प्रालिले आज(फागुन १) गतेदेखि हल बन्द गर्ने यसअघि नै जानकारी गराएको थियो ।

विसं २०५२ सालदेखि सञ्चालनमा आएको हल औपचारिक रूपमा मंगलबारदेखि बन्द गरिएको गोपीकृष्ण मुभिजका प्रबन्ध निर्देशक निरक पौडेलले जानकारी दिए ।

कोरोनाको संक्रमण कालदेखि नै चलचित्र क्षेत्रमा आएको व्यावसायिक मन्दीका कारण कम्पनीले घाटा व्यहोर्नु परेको उनको भनाइ छ । ठूलो आर्थिक घाटा तथा राज्यको विद्यमान कर प्रणालीले गर्दा चलचित्र निर्माण, प्रदर्शन तथा वितरणमा देशको अग्रणी स्थानमा रही विगत पाँच दशकदेखि सक्रिय रहेको व्यवसायलाई बन्द गर्नुको पीडा व्यक्त गर्न नसकिने पौडेलको भनाइ छ ।

२८ वर्षअघि स्थापना भएको गोपीकृष्ण हल वरिष्ठ चलचित्रकर्मी उद्धव पौडेलले स्थापना गरेको हुन् । कुल सात पर्दा रहेको हल पछिल्लो समय दुईवटामा सीमित भएको थियो । बाँकी दुईवटा हल पनि बन्द भएको हो ।

उक्त हल भएको स्थानमा कम्प्लेक्स बनाउन लागिएको छ । केही समयअघिबाट पुरानो भवन भत्काउन सुरु गरिएको भए पनि अहिले भने काम रोकिएको छ । उक्त स्थानमा ६ अर्ब बढीको लगानीमा ‘गोपीकृष्ण सेन्टर कम्प्लेक्स’ बन्न लागेको छ । गोपीकृष्ण सेन्टर कम्प्लेक्समा सपिङ मल, सिनेमा हलसहित पाँचतारे होटल लगायत रहने बताइएको छ । १० रोपनी क्षेत्रफलमा फैलिने उक्त भवनमा २ तल्ला पार्किङसहित १८ तल्लाको बन्ने छ ।


क्लिकमान्डु