१५ प्रतिशतले बढ्यो नेको इन्स्योरेन्सको नाफा



काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेको इन्स्योरेन्सको नाफा १५.२० प्रतिशतले बढेको छ ।

गत आवको पुस मसान्तसम्म कुल १९ करोड २० लाख रुपैयाँ खुद नाफा गरेको कम्पनीको चालु आवको पुस मसान्तमा नाफा बढेर २२ करोड १२ लाख रुपैयाँमा पुगेको हो ।

कम्पनीले नाफासँगै प्रिमियम शुल्कमा पनि सामान्य वृद्धि गरेको छ । गत आवको पुस मसान्तमा कम्पनीले १ अर्ब ४ करोड रुपैयाँ प्रिमियम शुल्क संकलन गरेकोमा चालु आवको सोही अवधिमा १ अर्ब ९ करोड रुपैयाँ प्रिमियम शुल्क संकलन गरेको हो।

कम्पनीले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणमा २१ करोड ६४ लाख रुपैयाँमात्रै आम्दानी गरेको छ । गत पुस मसान्तमा कम्पनीले २१ करोड ६९ लाख रुपैयाँ आम्दानी गरेको थियो । तुलनात्मक रुपमा गतआवको ६ महिना र चालु आवको सोही अवधिमा लगानीको प्रतिफलमा भने ०.२३ प्रतिशतले कमी आएको हो । पुस मसान्तसम्म कम्पनीले ५ अर्ब ६४ करोड रुपैयाँ बिमाकोषबाट लगानी गरिसकेको छ ।

यसैबीच कम्पनीले चालु आवको दोस्रो त्रैमासमा कमिसन खर्च र सेवा खर्चलाई घटाएको छ भने कर्मचारीको खर्च बढाएको छ । चालु आवको पुस मसान्तसम्म कम्पनीले कमिसनमा २ करोड ५७ लाख रुपैयाँ खर्च गरेको छ । गत वर्ष सोही अवधिमा यस्तो खर्च २ करोड ९० लाख रुपैयाँ थियो । सेवा खर्च शीर्षकमा गत वर्ष कम्पनीले ७६ लाख १८ हजार रुपैयाँ खर्च गरेमा चालु आवको पुस मसान्तसम्म ६९ लाख २६ हजार रुपैयाँ खर्च गरेको छ ।

कर्मचारी खर्च भने कम्पनीले बढाएको छ । गत आवको पुस मसान्तसम्म यस्तो खर्च १७ करोड २७ लाख रुपैयाँ थियो भने चालु आवमा २० करोड २८ लाख रुपैयाँ कर्मचारीमा गरेको हो ।

पुस मसान्तसम्म कम्पनीले कुल १ लाख ५४ हजार वटा बिमा पोलेसी बिक्री गर्दा ४४ हजार ८ सय ७० वटा पुरानै बिमा नवीकरण भएका हुन् ।

कम्पनीको चुक्ता पुँजी २ अर्ब १ करोड रुपैयाँ छ । नेपाल धितोपत्र बोर्डले निर्जीवन बिमा कम्पनीहरुले न्यूनतम २ अर्ब ५० करोड रुपैयाँको सीमामा चुक्ता पुँजी पुर्याउने व्यवस्था गरेको छ । जसमा कम्पनीले अझै ४९ करोड रुपैयाँ जुटाउन नसक्दा सीमामा चुक्ता पुँजी पुर्याउन सकेका छैन ।

कम्पनीले प्रतिसेयर आम्दानी २१.९९ रुपैयाँ छ भने नेटवर्थ २३०.०१ रुपैयाँ छ ।


क्लिकमान्डु