राष्ट्रिय जीवन बीमा कम्पनीले ६ महिनामा कमायो १ करोड ४२ लाख रुपैयाँ



काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको ६ महिनामा नाफामा ४३.४३ प्रतिशतले वृद्धि गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार १ करोड ४२ लाख रुपैयाँ बराबरको खुद नाफा गरेको हो ।

गत आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनीको खुद नाफा ९९ लाख १२ हजार रुपैयाँ मात्रै रहेको थियो । राष्ट्रिय बिमा संस्थानबाट पब्लिक कम्पनीको रुपमा राष्ट्रिय जीवन बिमा कम्पनीमा परिणत कम्पनीले चालु आवाको दोस्रो त्रैमासमा आइपुग्दा नाफामा पनि उल्लेख्य सुधार गरेको हो ।

चालु आवको पुससम्ममा कम्पनीले बिमा पोलेसी बिक्रीलाई उल्लेख्य बढाएको छ भने प्रिमियम शुल्क पनि गत आवको पुसमसान्तभन्दा धेरै संकलन गरेको छ । कम्पनीले नवीकरण शुल्क पनि गत वर्षको तुलनामा धेरै संकलन गरेको हो ।

वित्तीय विवरणअनुसार कम्पनीले चालु आवको पुस मसान्तसम्म ६ अर्ब ४१ करोड रुपैयाँको प्रिमियम शुल्क संकलन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ६ अर्ब १४ करोड रुपैयाँ शुल्क संकलन गरेको थियो । तुलनात्मक रुपमा चालु आवको ६ महिनामा कम्पनीले ४.३९ प्रतिशतले धेरै प्रिमियम संकलन गरेको हो ।

चालु आवको ६ महिनामा कम्पनीले ४७ अर्ब ९ करोड रुपैयाँ लगानी गरेकोमा त्यसबाट २ अर्ब ६२ करोड रुपैयाँ आम्दानी गरेको छ। जसमा बिमा पोलेसी धितो कर्जाबाट मात्रै कम्पनीले ब्याजबापत ११ करोड रुपैयाँ आम्दानी गरेको छ। गत वर्ष सोही अवधिमा कम्पनीले ७ करोड २२ लाख रुपैयाँ पोलेसी धितोकर्जाबाट ब्याजवापतको आम्दानी गरेको थियो ।

यो अवधिमा कम्पनीले बिमा भुक्तानीलाई पनि बढाएको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनीले बिमितलाई १ अर्ब ५७ करोड रुपैयाँ दाबी भुक्तानी गरेकोमा चालु आवको सोही अवधिमा २ अर्ब ८ करोड रुपैयाँ दाबी भुक्तानी गरेको हो ।

चालु आवको पुस मसान्तसम्म कम्पनीले ५ लाख ६३ हजार वटा बिमापोलसी बिक्री गरेको छ भने चालु आवको ६ महिनामा मात्रै ५७ करोड १ लाख रुपैयाँ बराबरको प्रथम बिमा शुल्क संकलन गरेको छ । नवीकरणबाट भने कम्पनीले चालु यो अवधिमा ५ अर्ब ८४ करोड रुपैयाँ शुल्क संकलन गरकेो हो । गत वर्ष कम्पनीले नविकरणबाट ५ अर्ब ७६ करोड रुपैयाँ शुल्क संकलन गरेको थियो ।

वित्तीय सुधारलाई प्राथामिकतामा राख्दै व्यवसाय बढाउन लागि परेको कम्पनीले एक वर्ष भित्रमा चुक्तापूँजी ५ अर्बमा पुर्याउनुपर्नेछ । यद्यपी चालु आवको पुस मसान्तसम्म कम्पनीले चुक्तापुूँजीमा बृद्धि गर्न सकेको छैन । कम्पनीको चुक्तापूँजी १८ करोड १० लाख रुपैयाँमात्रै छ । कम्पनीले चुक्तापूँजी शेयरधनीलाई पूँजी थप गर्न लगाएर बढाउने प्रयास गरिरहेको हो ।


क्लिकमान्डु