असारमा ९२ देशका उच्च सरकारी अधिकारी सम्मिलित आईडीए बैठक नेपालमा हुने



काठमाडौं । विश्व बैंकको सहुलित दरमा ऋण दिने संस्था इन्टरनेशनल डेभलपमेन्ट एसोसिएसन (आईडीए) को २१ औं बैठक नेपालमा आयोजना हुने भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतको प्रस्तावमा आईडीएको बैठक आगामी असार काठमाडौंमा हुन लागेको हो ।

सम्मेलनमा विश्व बैंकका अध्यक्षलगायत ९२ भन्दा बढी देशका उच्च तहका सरकारी प्रतिनिधि सहभागी हुने छन् ।

‘आउँदो असारमा आईडीएको सम्मेलन नेपालमा आयोजना गर्न विश्व बैंक तयार रहेको छ’ अर्थमन्त्री महतले भने, ‘औपचारिक पत्र केही दिनमा आउँछ । यो अहिलेसम्मकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सम्मेलन हुने छ ।’

आईडीएको रिप्लेनिसमेन्ट बैठकले नेपाललाई अन्तर्राष्ट्रिय समुदायमा थप परिचित बनाउने विश्वास गरिएको छ । उक्त बैठकमा अन्तर्राष्ट्रिय विकासका बारेमा सहकार्य कसरी अघि बढाउने र नेपाल जस्ता विकाशोन्मुख देशलाई कसरी सहयोग गर्ने लगायतका विषयमा छलफल हुने जनाइएको छ ।

यसअघि २० औं बैठक जापानमा सम्पन्न भएको थियो ।

आईडीए बैठक आयोजना गर्नका लागि नेपालसहित विश्वका विभिन्न देशले विश्व बैंकमा प्रस्ताव पेस गरेका थिए ।

अर्थमन्त्री डा महतले गत असोजमा मोरक्कोको मारकेसमा भएको आईएमएफको बैठकमा विश्व बैंकका उपाध्यक्षसमक्ष आईडीको आगामी बैठक नेपालमा राख्न प्रस्ताव गरेका थिए ।


क्लिकमान्डु