बागमती प्रदेशमा तलब ज्यालामा सबैभन्दा बढी खर्च



काठमाडौं । व्यापारिक प्रतिष्ठानमा काम गर्ने कामदारको हकमा सबैभन्दा बढी खर्च बागमती प्रदेशमा हुने गरेको पाइएको छ ।

प्रदेशको हकमा बागमती प्रदेशमा सञ्चालनमा रहेका खुद्रा तथा थोक व्यापारिक प्रतिष्ठानमा कार्यरत कामदारको ज्याला र तलबमा अत्यधिक खर्च हुने गरेको फेला परेको छ ।

राष्ट्रिय तथ्याँक कार्यालयले पछिल्लो समयमा थोक तथा खुद्रा व्यापारको अवस्थाको बारेमा गरेको अध्ययनको क्रममा यो तथ्याँक बाहिरिएको हो । कार्यालयले अध्ययन प्रतिवेदन शुक्रबार सार्वजनिक गरको हो ।

आर्थिक बर्ष २०७९/८० मा गरिएको अध्ययनअनुसार सोही बर्षलाई आधार मानेर यो खर्चको दर निकालिएको हो ।

सार्वजनिक गरिएको तथ्याँकअनुसार बागमती प्रदेशमा सञ्चालनमा रहेका थोक तथा खुद्रा व्यापारमा संलग्न रहेका कामदारको ज्याला र तलबमा २४ अर्ब रुपैयाँ खर्च भएको भेटिएको छ ।

ज्याला र तलबकै हिसावको तथ्याँक हेर्ने हो भने बागमती प्रदेशमै सञ्चालनमा रहेका खुद्रा व्यापारतर्फ सबैभन्दा बढी खर्च भएको छ । बागमती प्रदेशको खुद्रा व्यापारतर्फ तलब र ज्यालामा १४ अर्ब ३३ करोड ८६ लाख ७५ हजार रुपैयाँ खर्च भएको सर्वेक्षणले देखाएको छ । राष्ट्रिय तथ्याँक कार्यालयले आर्थिक बर्ष २०७८/७९ मा भएको खर्चलाई आधार मानेर यो नतिजा सार्वजनिक गरेको हो ।

यस्तो व्यापार सर्वेक्षण पहिलो पटक आर्थिक बर्ष २०६५/६६ मा भएको थियो । त्यसको १४ बर्षको अन्तरालपछि आर्थिक बर्ष २०७८/७९ मा दोश्रो पटक यो सर्वेक्षण गरिएको थियो । उक्त सर्वेक्षणको नतिजा राष्ट्रिय तथ्याँक कार्यालयले सार्वजनिक गरेको हो।

बागमती प्रदेशमै खुद्रा व्यापारपछि सबैभन्दा बढि तलब ज्यालामा रकम खर्च हुनेमा थोक व्यापार पनि हो । थोक व्यापारतर्फ तलब ज्यालामा मात्रै ५ अर्ब १८ करोड २३ लाख ७ हजार रुपैयाँ खर्च हुने गरेको छ ।

बागमती प्रदेशको थोक व्यापारपछि मोटरको व्यापार तथा मर्मत सम्भार व्यापारतर्फको तलव ज्यालामा भने ५ अर्ब ७ करोड २५ लाख ७३ हजार रुपैयाँ खर्च भएको देखाइएको छ ।

बागमती प्रदेशपछि थोक तथा खुद्रा व्यापारतर्फ कामदारको तलब तथा ज्यालामा बढि रकम खर्च हुने दोश्रो प्रदेशमा कोशी प्रदेश परेको छ । यो प्रदेशमा पनि तलब र ज्यालामा बढि खर्च हुने खुद्रा व्यापार परेको छ ।

कोशीको खुद्रा व्यापारतर्फ तलब ज्यालामा ३ अर्ब २२ करोड ८५ लाख ६९ हजार रुपैयाँ खर्च भएको तथ्याँकले देखाएको छ । यसैगरी यो प्रदेशको थोक व्यापारभन्दा मोटर व्यापार तथा मर्मत सम्भार व्यापारमा बढी तलब ज्यालामा खर्च हुने गरेको फेला परेको छ ।

कोशीको मोटर व्यापार तथा मर्मत सम्भार व्यापारतर्फ तलब ज्यालामा १ अर्ब ४२ करोड १५ लाख २९ हजार रुपैयाँ खर्च भएको थियो भने थोक व्यापारतर्फ १ अर्ब १२ करोड ५१ लाख ९४ हजार रुपैयाँ खर्च भएको थियो ।

कोशीपछि लुम्बिनी प्रदेशको थोक तथा खुद्रा व्यापारतर्फ तलब ज्यालामा बढि रकम खर्च भएको तथ्याँकले देखाएको छ । लुम्बिनी प्रदेशमा पनि तलब ज्यालामा सबैभन्दा बढी खर्च खुद्रा व्यापारमै हुने गरेको पाइएको छ । यो प्रदेशको खुद्रा व्यापारतर्फ ३ अर्ब ११ करोड ६० लाख १६ हजार रुपैयाँ खर्च भएको भेटिएको छ ।

यसपछि थोक व्यापारतर्फ तलब ज्यालातर्फ बढि खर्च भएको पाइएको छ । थोक व्यापारतर्फ १ अर्ब १५ करोड ९६ लाख ३ हजार रुपैयाँ तलब ज्याला शिर्षकमा खर्च भएको थियो । यस्तै यहि प्रदेशको मोटर व्यापार तथा मर्मत सम्भार व्यापारतर्फ १ अर्ब ११ करोड ८८ लाख १८ हजार रुपैयाँ खर्च भएको छ ।

थोक तथा खुद्रा व्यापारतर्फ कामदारको तलब ज्यालातर्फ सबैभन्दा कम खर्च भने कर्णाली प्रदेशमा भएको पाइएको छ । कर्णालीको खुद्रा व्यापारतर्फ तलब ज्यालातर्फ ३४ करोड ४५ लाख ८२ हजार रुपैयाँ खर्च भएको थियो भने मोटर व्यापार र मर्मत सम्भार व्यापारतर्फ ९ करोड ९२ लाख ९६ हजार रुपैयाँ खर्च भएको थियो । थोक व्यापारतर्फ भने ६ करोड ९६ लाख ४५ हजार रुपैयाँमात्रै खर्च भएको थियो ।


क्लिकमान्डु