बजेटको मध्यावधि समीक्षाः संशोधित खर्च अनुमान पोहोरभन्दा कम हुने



काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको बजेटको संशोधित खर्च अनुमान सोमबार (आज) सार्वजनिक गर्ने तयारी गरेको छ ।

गत जेठ १५ गते १७ खर्ब ५१ अर्बको बजेट सार्वजनिक गरेका अर्थ मन्त्री डा. प्रकाश शरण महतले बजेटको संशोधित खर्च अनुमान सार्वजनिक गर्न लागेका हुन् ।

अर्थ मन्त्रालयले महँगीको लक्ष्य ६ प्रतिशतको सीमाभित्र राख्ने लक्ष्यलाई निरन्तरता दिँदै आर्थिक वृद्धिको लक्ष्य ५ प्रतिशतमा झार्ने तयारी गरेको छ ।

चालू आर्थिक वर्षमा संघीय सञ्चित कोषमा करिब ११ खर्ब रुपैयाँ राजस्व जम्मा हुने लक्ष्य राख्ने सरकारको तयारी छ ।

यस्तै, सरकारले वैदेशिक ऋण र अनुदानबाट १ खर्ब ७० अर्ब रुपैयाँ आन्तरिक ऋणबाट २ खर्ब ४० अर्ब रुपैयाँ उठाउने लक्ष्य राख्दै १५ खर्ब रुपैयाँमाथिको संशोधित खर्च अनुमान सार्वजनिक गर्ने तयारी गरेको हो ।

अर्थ मन्त्रालयले बजेट विनियोजन भएर पनि हालसम्म कार्यन्वयनमा नगएका करिब १ खर्ब ५० अर्ब रुपैयाँ बराबरका चालू प्रकृतिका र करिब १ खर्ब रुपैयाँ पुँजीगत प्रकृतिका आयोजनामा बजेट खर्च नहुने अनुमान सार्वजनिक गर्ने तयारी गरेको छ ।

अहिलेसम्म बजेट खर्च गर्न नसकेका स्थानीय तहमा पनि पठाउने पैसा कटौती गर्ने अर्थ मन्त्रालयको योजना छ ।

सोमबार मन्त्री महतले चालु आर्थिक वर्षमा करिब १५ खर्ब २५ अर्ब रुपैयाँ मात्रै खर्च हुने गरी संशोधित अनुमान सार्वजनिक गर्ने तयारी गरेका छन् ।

चालु आर्थिक वर्षको बजेटको आकार गत वर्ष भन्दा कम भएकाले अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा गत वर्षभन्दा संशोधित अनुमान घटाउने तयारी गरेको छ।

गत आर्थिक वर्षमा सरकारले १७ खर्ब ९३ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको थियो भने माघ मसान्तमा १५ खर्ब ४९ अर्ब ९९ रुपैयाँ मात्रै खर्च हुने संशोधित लक्ष्य सार्वजनिक गरेको थियो ।

तर, यथार्थमा भने गत वर्ष सरकारले १४ खर्ब २९ करोड रुपैयाँमात्रै खर्च गर्न सकेको थियो ।

चालू आर्थिक वर्षमा लक्ष्यभन्दा करिब २० प्रतिशत कम राजस्व संकलन हुनुको साथै वैदेशिक सहायता र ऋण पनि लक्ष्यको ५० प्रतिशतमात्रै आउने सम्भावना भएपछि अर्थ मन्त्रालयले संशोधित खर्चको अनुमान गत वर्षभन्दा कम गर्ने तयारी गरेको छ ।

अर्थ मन्त्रालयले सोमबार दिँउसो अर्धवार्षिक समीक्षा सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरेको छ ।

अर्थ मन्त्रालयका एक अधिकारीकाअनुसार चालू आर्थिक वर्षमा १४ खर्ब ५० अर्ब रुपैयाँ पनि आम्दानी हुने सम्भावना नरहेको बताउँछन् ।

‘यो वर्ष संघिय सरकारको सञ्चित कोषमा बढीमा १० खर्ब रुपैयाँ राजस्व आउने सम्भावना छ । वैदेशिक सहायता र ऋणबाट पनि १ खर्ब ५० अर्ब रुपैयाँ पनि संकलन हुने सम्भावना छैन,’ ति अधिकारीले क्लिकमान्डुसँग भने, ‘बजेटमा प्रस्ताव गरिएको पूरै २ खर्ब ४० अर्ब रुपैयाँ ऋण उठ्यो भने पनि १४ खर्ब रुपैयाँमात्रै आम्दानी हुन्छ । यदी सरकारले १४ खर्ब रुपैयाँभन्दा बढी खर्च गर्यो भने त्यसले सञ्चित कोषको घाटा बढाउने हो ।’

सरकारले गत वर्ष संकलन भएकोभन्दा ४३ प्रतिशत बढी राजस्व उठाउने लक्ष्य निर्धारण गर्दै चालू आर्थिक वर्षको बजेट बनाएको ६ महिनामै संशोधित खर्चको अनुमान सार्वजनिक गर्नु पर्ने अवस्था आएको अर्थ मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

सरकारले चालु आर्थिक वर्षमा १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट सार्वजनिक गर्दा चालूतर्फ ११ खर्ब ४१ अर्ब रुपैयाँ, पुँजीगत तर्फ ३ खर्ब २ अर्ब रुपैयाँ, वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७ अर्ब रुपैयाँ विनियोजना गरेको थियो ।

सरकारले राजस्वबाट १२ खर्ब ४० अर्ब रुपैयाँ, वैदेशिक अनुदानबाट ४९ अर्ब ९४ करोड रुपैयाँ, वैदेशिक ऋणबाट २ खर्ब १२ अर्ब रुपैयाँ र आन्तरिक ऋणबाट २ खर्ब ४० अर्ब रुपैयाँ उठाउने लक्ष्य लिएको थियो ।

तर, चालू आर्थिक वर्षमा करिब ४ प्रतिशतले आयातमा गिरावट हुनुको साथै आन्तरिक उत्पादन बढ्न नसक्दा सरकाले लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेको छैन ।

गत वर्षभरीमा १० खर्ब १० अर्ब रुपैयाँ राजस्व संकलन हुँदा संघीय सरकारले खातामा ९ खर्ब ५० अर्ब रुपैयाँ जम्मा भएको थियो ।


क्लिकमान्डु