नेपाल कोल्ड स्टोरेज संघ अध्यक्षमा कृष्णभक्त श्रेष्ठ निर्वाचित
काठमाडौं । नेपाल कोल्ड स्टोरेज संघको अध्यक्षमा कृष्णभक्त श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । संघको १० औं अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
अध्यक्ष श्रेष्ठ चन्द्रागिरि उद्योग वाणिज्य संघका अध्यक्षका साथै ग्यास उद्योगी समेत हुन् । संघको उपाध्यक्षमा विश्वेश्वरप्रसाद कुसवाहा तथा सचिवमा गोकुल बराल सर्वसम्मत भएका छन् भने कोषाध्यक्ष मानवराज थापा पनि सर्वसम्मत भएका हुन् ।
यस्तै संघको सदस्यमा आषिश शर्मा, देवानजंग चौधरी र राजेन्द्र भट्ट सर्वसम्मत भएका छन् । साधारण सभाबाट संशोदित विधानले कार्यसमिति नौ सदस्य बनाउने व्यवस्था अनुसार सुशिला पाठक र सुवास मल्ललाई संघले आमन्त्रित सदस्य मनोनीत गरेको छ ।
संघको साधारणसभामा निवर्तमान अध्यक्ष सुरेन्द्रपप्रसाद बलायाले उच्च अदालतले शीत भण्डारको पक्षमा गरेको निर्णय कार्यान्वयनमा नआएको भन्दै सम्बद्ध निकायको ध्यानाकर्षण गराए ।
राज्यले विद्युत् महशुल छुट दिए पनि विद्युत प्राधिकरणसँग यससम्बन्धी विवादका कारण समस्या सिर्जना भएको उनको भनाइ छ ।