बेंसीसहर–चामे सडक सात किलोमिटर कालोपत्र



लमजुङ । बेंसीसहर–चामे सडक खण्डमध्ये सात किलोमिटर कालोपत्र गरिएको छ । लमजुङ–मनाङ जोड्ने एकमात्र सडकअन्तर्गत बेंसीसहरदेखि खुदीसम्मको सात दशमलव आठ किलोमिटर सडक कालोपत्र भएको हो ।

डुम्रे बेंसीसहर–चामे सडक योजना कार्यालयका सूचना अधिकारी तथा इञ्जिनियर किरण पोखरेलले सात दशमलव आठ किलोमिटर सडक कालोपत्र भइसकेको जनाउँदै अब सात सय मिटर बाँकी रहेको बताए । उनका अनुसार उक्त सडकको हालसम्म ८५ प्रतिशत काम सम्पन्न भइसकेको छ ।

योजना कार्यालयका अनुसार उक्त सडक स्तरोन्नति तथा कालोपत्र गर्न हालसम्म १९ करोड रुपैयाँ खर्च भइसकेको छ । ट्रयाक खोलेको २९ वर्षपछि अमेरिकन प्रविधिको अस्फाल्ट कालोपत्र राख्ने काम भइरहेको इञ्जिनियर पोखरेलले बताए । उनका अनुसार सडकको पर्खाल उठाउने, कल्भर्ट बनाउने, चौडा तथा कटिङ गर्ने, नाली बनाउनेलगायत काम सम्पन्न भएको छ ।

सडकको पाँच दशमलव पाँच मिटरमा सवारी साधन गुड्ने, एक दशमलव एक मिटरको नाली र सर्वसाधारण हिँड्ने बाटो एक मिटर चौडाइको रहेको पोखरेलले जानकारी दिए । उनका अनुसार बस्ती भएका ठाउँमा दुईतर्फी र बस्ती नभएका ठाउँमा एकतर्फी नाली निर्माण गरिएको छ ।

अन्तिम चरणको काम कालोपत्र सम्पन्न भएसँगै रोड मार्किङ गर्ने, रोड फर्निचर (पेन्टिङ) गर्ने, क्र्यास बेरियर राख्ने, किलोमिटर पोस्ट राख्ने, रोड पेन्टिङलगायत काम हुने इञ्जिनियर पोखरेलले जानकारी दिए । २०८० असार मसान्तसम्म कालोपत्र गर्नेगरी २०७८ असार मसान्तमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो ।

सम्झौताअनुसार निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि २०८१ असार ३० गतेसम्म म्याद थप गरिएको छ । सडक योजना कार्यालयका अनुसार कूल ५२ करोड ९६ लाख रुपैयाँको लागत अनुमान गरिएकामा २५ करोड ३२ लाख रुपैयाँमा कालोपत्रको सम्झौता भएको छ ।

२०७८ असारमा सम्झौता भएपनि वर्षाका कारण २०७८ असोजदेखि मात्र काम सुरु भएको निर्माण कम्पनीले जनाएको छ । कालोपत्र नहुँदा आक्रोशित बनेको यहाँका स्थानीय कालोपत्र सम्पन्न हुन लाग्दा उत्साहित भएका छन् ।

मनाङ जिल्लालाई सडक सञ्जालमा जोड्ने सरकारको योजनाअनुरुप २०५१ देखि सडक डिभिजन कार्यालय तनहुँले निर्माण सुरु गरेको थियो । विविध कारण निर्माण रोकएपछि २०५७ देखि तत्कालीन नेपाली सेनाले सडक निर्माणको जिम्मा पाएको थियो । पैसठ्ठी किमी रहेको यस खण्डअन्तर्गत लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किमी पर्दछ ।


क्लिकमान्डु