काठमाडौंको फुटपाथ : विजुली पोल र खानेपानीको पाइपले पैदल यात्रुलाई सकस



सातदोवाटो लगनखेलमा फुटपाथ भत्काएर सडकमै राखिएको निर्माण सामाग्री ।

काठमाडौं । काठमाडौंको अधिकाँश फुटफाथ साँघुरो छ । साँघुरो फुटफाथ(पैदल मार्ग) को बीचमै विजुलीका पोल छन् । हिँड्न अल्झाउने र ठेस लाग्ने गरी खानेपानीका जताभावी पाइप राखिएका छन् ।

बिजुलीको पोल र खानेपानीको पाइपका कारण पैदल यात्रुलाई फुटफाथमा हिड्नै समस्या भएको काठमाडौं महानगरपालिकाले शनिबार गरेको अनुगमनको क्रममा भेटिएको छ ।

शनिबार काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले फुटफाथको अनुगमन गरेकी थिइन । त्यो क्रममा यस्तो दृश्य झल्किएको हो । उनले वडा नम्बर ४ वालुवाटार क्षेत्रमा निर्माण भइरहेको पैदल मार्ग सुधारको अनुगमन गरेकी थिइन् ।

‘परम्परागत रुपमा हुने गरेका पूर्वाधार निर्माणमा रुपान्तरण नगर्ने हो भने लगानी र प्रयास नतिजामूलक हुन सक्दैन । यसका लागि तत्काल कन्ट्रोल रुम (निगरानी कक्ष) सञ्चालन हुनेछ,’ डंगोल भन्छिन,‘सहरको पूर्वाधारमा काम गर्ने सबै कार्यालयका अधिकारी भएको कन्ट्रोल रुम हुनेछ । निर्माण योजना कार्यान्वयनमा जाँदा त्यस क्षेत्रसँग सम्बन्धित कार्यालयको योजना र दायित्व भएका कामलाई एकीकृत गराउने जिम्मेवारी कक्षमा भएका अधिकारीको हुनेछ ।’

अहिले कन्ट्रोल रुम कार्यान्वयनमा आइ नसकेकाले बालुवाटार क्षेत्रको पैदल मार्गमा दृष्टिविहिन हिँड्दा सोझै ठोकिने विजुलीका पोल, यात्रामा अल्झिने गरी राखिएका खानेपानीका पाइप भेटिएको उनले जानकारी दिइन् ।

पैदल यात्रुको हकमा देखिएको यस्ता अवरोध व्यवस्थापन गर्न तत्कालै सरोकारवाला निकायलाई पत्राचार गर्न उनले निर्देशन दिएकी छन् ।

वडा ४ का अध्यक्ष दिनेश महर्जनका अनुसार पूर्वाधारमा भएका अवरोधका कारण धेरै दुर्घटना भएका छन् । जनधनको क्षति भएको छ । सुविधाका लागि बनाइने पूर्वाधार जनधन क्षतिको कारण बन्न नहुने उनको भनाई थियो ।

अनुगमनका क्रममा बालुवाटार चोकदेखि सुवर्णशम्शेर मार्ग (वालुवाटारदेखि गैरीधारातर्फ) र थिरबम सडक (शितल निबास – बालुवाटार – नक्साल सडक) को पैदल मार्ग अनुगमन गरिएको थियो ।

६ करोड २२ लाख रुपैयाँ करसहित लागत रहेको यो योजनामा सडकको दुवैतर्फ गरी ५ दशमलव ७ किलोमिटर पैदल मार्ग निर्माण हुँदैछ ।

यो सडक खण्डको पैदल मार्ग औसतमा १ मिटरका छन् । यसमा पनि बिचमै बिजुलीका पोल छन् । सुविधा वितरण गर्दाका अन्य संरचना पनि छन् ।


क्लिकमान्डु