चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो वैशाखमा हुने, २०० भन्दा धेरै स्टल रहने



काठमाडौं । आगामी वैशाख १२ गतेदेखि चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२४ हुने भएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था,नेपालले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था र एक्स्पो एण्ड इभेण्ट म्यानेजमेण्ट सर्भिसको संयुक्त आयोजनामा आगामी वैशाख १२-१४ गते काठमाडौंमा चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो, २०२४ आयोजना गर्न लागिएको जानकारी दिइएको हो । इप्पानले ‘समृद्धिका लागि हरित ऊर्जा’ नारासहित हिमालयन हाइड्रो एक्स्पो, २०२४ आयोजना गर्न लागेको जनाएको छ ।

सन् २०३५ सम्मभित्र १५ हजार मेगावाट विद्युत निर्यात गर्ने र २८ हजार ५ सय मेगावाट उत्पादन गर्ने मार्गचित्र सरकारले निर्माण गरेको अवस्थामा यस्तो एक्स्पोले समग्र ऊर्जा क्षेत्रको विकासमा महत्वपूण हुने अपेक्षा आयोजकको रहेको छ ।

ऊर्जा देशको आर्थिक समृद्धि र उज्यालो नेपालसँग जोडिएकाले मूर्त रुप दिने गरी निजी क्षेत्रबाट हिमालयन हाइड्रो एक्स्पो, २०२४ आयोजना गर्न लागिएको बताएको छ ।

नेपालमा उत्पादित विद्युतको खपत वृद्धि र निर्यात बजारीकरणको ठूलो ज्ञान र सूचना आदानप्रदान गर्न एक्स्पो उचित गन्तव्य हुने अपेक्षा आयोजकको रहेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै इप्पानका महासचिव बलराम खतिवडाले दिगो,समावेशी,हरित,पहुँचयोग्य र प्रतिफलयुक्त उर्जा विकासका विविध आयामसँगै ऊर्जासँग सम्बन्धित स्वदेशी र विदेशी लगानी,पुँजी संकलन,व्यवस्थापन लगायत ७ विषयमा अन्तरक्रिया हुने जानकारी दिए ।

एक्स्पोमा चीन,भारत,क्यानडा,नर्वे,दक्षिण कोरिया,जर्मनी,बुल्गेरिया,चेक रिपब्लिक इटली,स्वीडेन,बेलायत र ब्राजिल लगायत देशका कम्पनी तथा सरोकारवाला निकायहरु आउने उनको भनाइ छ ।

जलविद्युत लगानीकर्ता, उत्पादक, इन्जिनियर गरी तीन दिनमा ५० हजार भन्दा बढीले एक्स्पो अवलोकन गर्ने अपेक्षा रहेको खतिवडाले बताए ।

त्यस्तै,इप्पानका अध्यक्ष गणेश कार्कीले मुलुक ऊर्जामय भएको अवस्था रहेको बताए । २०३५ सम्म १३ हजार मेगावाट नेपालमा उत्पादित विद्युत खपत गर्ने लक्ष्य रहेको भन्दै विशेष गरी विद्युत उत्पादनमा जोड दिनुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

१० वर्षमा १० हजार मेगावाट बिजुली भारत सरकारले किन्ने सम्झौता भएको छ तर १० हजार मेगावाट विद्युत उत्पादन गर्न विषय गम्भीर रहेको बताए ।

अध्यक्ष कार्कीले एक्स्पोमा १३ हजार विद्युत मुलुकभित्रै खपत गर्ने उपायको खोजी गरिने जानकारी दिए ।

नेपालले १० वर्षमा १५ हजार मेगावाट विद्युत निर्यात गर्न समस्या पर्ने अवस्था नभएको उनको भनाइ छ । अध्यक्ष कार्कीले राज्यको सक्रियतामा नीतिगत सुधार गरिदिए निजी क्षेत्रलाई सँगै लैजाने हो भने ३० हजार मेगावाट निर्यात गर्न सकिने दाबी गरे । उनले विद्युत उत्पादन,खपत र निर्यातको लागि सरकारले सबैभन्दा पहिला नीतिगत सुधार गर्न आवश्यक रहेको बताए ।

एक्स्पोमा २०० भन्दा बढी स्टलहरु रहने छन् । २०० मध्ये ५० प्रतिशत स्वदेशी स्टल रहने आयोजकले जनाएको छ । एक्स्पोमा सहभागिताको लागि बुधवारदेखि स्टल बुकिङ खुला गरिएको जानकारी आयोजकले जनाएको छ ।


क्लिकमान्डु