साताको २८ उडान गर्न सक्ने गरी स्वीट्जरल्याण्डसँग हवाई सम्झौता, हिमालयन र नेवानिले उडान गर्न सक्ने



काठमाडौं । नेपाल र स्वीट्जरल्याण्डबीच सातामा २८ वटा उडान गर्ने पाउने गरी द्विपक्षिय हवाई सेवा सम्झौता भएको छ ।

दुई देशको सरकारबीच भएको यो सम्झौतासँगै नेपालबाट हिमालय र नेपाल वायुसेवा निगम (नेवानि) ले सीधा उडान गर्न पाउने भएका छन् भने उताको पनि दुईवटै कम्पनीका वायुसेवा नेपाल आउन पाउने छन् ।

दुई मुलुकबीच भएको यो हवाई सम्झौतापछि अब नेपाली वायुसेवाले चाहेकै बेला स्वीट्जरल्याण्डमा उडान गर्न पाउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताए ।

‘नेपालमा हुने उडानमा भने उपलब्ध भएसम्म सातामा १४ वटा उडानसम्म काठमाडौं विमानस्थलमा गर्ने र बाँकी १४ वटा उडान उपत्यका बाहिरका विमानस्थलबाट गर्नुपर्ने छ’ उनले क्लिकमाण्डुँसँग भने ।

यो सम्झौतापछि अब पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि स्वीट्जरल्याण्डले हवाई उडान गर्न सक्ने छ ।

मंगलबार पर्यटन मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा नेपाल र स्वीट्जरल्याण्ड सरकारबीच द्विपक्षीय हवाई सेवा सम्झौता गरेको हो । योसँगै नेपालले हवाई सेवा सम्झौता गरेको मुलुकको संख्या ४२ पुगेको छ ।

अझै थप मुलुकसँग हवाई सेवा सम्झौताको तयारी भइरहेको र केहीमा आवश्यक प्रक्रियासमेत अगाडि बढेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ ।


क्लिकमान्डु