लबिम मलको व्यापार २१ प्रतिशतले बढ्यो, एक वर्षमा साढे ३४ करोडको कारोबार



काठमाडौं । लबिम मलको व्यापार २१ प्रतिशतले बढेको छ । कम्पनीको व्यापार सन् २०२२ को तुलनामा सन् २०२३ मा २१ प्रतिशतले बढेको हो ।

कम्पनीले सन् २०२३ मा ३४ करोड ५५ लाख रुपैयाँको व्यापार गरेको छ । मलले सन् २०२२ मा २८ करोड ५१ लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै, कम्पनीले सन् २०२१ मा २० करोड ७२ लाख रुपैयाँ, सन् २०२० मा २४ करोड ६२ लाख रुपैयाँ र सन् २०१९ मा २८ करोड ९४ लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् २०१२ मा दर्ता भई ललितपुर विशाल बजार मल्टीकम्प्लेक्स कम्पनीले लिजमा जग्गा लिई पुल्चोकमा व्यवसायिक कम्प्लेक्सको विकास गरेको छ । कम्पनीले २५ वर्ष जग्गा लिजमा लिई ‘लबिम मल’ नाममा मल सञ्चालन गर्दै आएको छ । मल सन् २०१७ देखि पूर्ण क्षमतामा सञ्चालनमा ल्याएको थियो ।

कम्पनीले कम्प्लेक्सको रिटेल स्पेस भाडामा दिँदै आएको छ । मलमा एक सयभन्दा बढी रिटेल आउटलेट छन् । मलमा रेष्टुरेन्ट, बुटिक, फास्ट फुड र तीन वटा मल्टिफ्लेक्स थिएटर छन् ।

राजेशकुमार सिद्धिको ३७ प्रतिशत, नकिम उधिनको २६ प्रतिशत, भास्कर ढुङ्गानाको २० प्रतिशत र रेशु अर्याल ढुङ्गानाको १७ प्रतिशत लगानी रहेको कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि ८१ करोड २२ लाख रुपैयाँको रेटिङ गराएको छ।

कम्पनीले सन् २०२३ मा थिएटरबाट उच्च कारोबार गरेको जनाएको छ । थिएटरको ९५ प्रतिशत क्षमतामा सञ्चालन भएको उल्लेख छ । एक लाख ९१ हजार स्क्वायरफिट क्षेत्रफलमा फैलिएको मलमा १५० वटा पसल छन् ।


क्लिकमान्डु