नेपाल लाइफ इन्स्योरेन्सले ६ महिनामा कमायो पौने ४३ करोड नाफा



काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा नेपाल लाइफ इन्स्योरेन्सको नाफा १५.०३ प्रतिशतले बढेको छ । यो अवधिमा कम्पनीले ४२ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको हो । गत वर्षको सोही अवधिमा ३७ करोड ८८ लाख नाफा कमाएको थियो ।

जीवन बिमा क्षेत्रको सर्वाधिक नाफा कमाउनेमा पहिलो बन्ने नेपाल लाइफ इन्स्योरेन्स यस वर्ष पनि व्यवसाय विस्तारमा आक्रामकता देखिएको हो ।

गत वर्षको पुस मसान्तमा १८ अर्ब ६२ करोड रुपैँया खुद बिमाशुल्क संकलन गरेको कम्पनीले चालु आवको सोही अवधिमा २० अर्ब रुपैयाँ बिमाशुल्क संकलन गरेको हो । तुलनात्मक रुपमा चालु आवको ६ महिनामा बिमाशुल्क संकलन ७.४१ प्रतिशतले बढेको हो ।

यस्तै पोलेसी धितो कर्जाबाट आउने ब्याज पनि यस वर्ष बढेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्म १ अर्ब ५७ करोड रुपैयाँ ब्याज आम्दानी गरेको कम्पनीले चालु वर्षको सोही अवधिमा २ अर्ब ३ करोड रुपैयाँ आम्दानी गरेको हो ।

चालु आवको ६ महिनामा कम्पनीले लगानी पनि १०.९४ प्रतिशतले बढाएर १ खर्ब ५२ अर्ब रुपैयाँमा पुर्याएको छ। गतवर्षको सोही अवधिमा कम्पनीको लगानी १ खर्ब ३७ अर्ब रुपैयाँ मात्रै थियो ।

बिमा प्राधिकरणले बैंक तथा वित्तीय क्षेत्रमा मात्रै लगानी गर्दै आएका बिमा कम्पनीलाई ११ क्षेत्रमा लगानी गर्न सक्ने व्यवस्था गरेसँगै कम्पनीले लगानीलाई पनि चालु आवमा बढाएको हो ।

यस्तै कम्पनी चालु आवको पुस मसान्तसम्म ३२ अर्ब ७५ करोड रुपैयाँ कर्जामा लगानी गरेको छ । गत वर्ष कम्पनीले ३० अर्ब ८३ करोड रुपैयाँ कर्जामा लगानी गरेको थियो ।

नाफामा उल्लेख्य वृद्धि गर्दै आएको यस कम्पनीले चालु आवको ६ महिनामा पनि बिमाशुल्क,ब्याज आम्दानी देखि लगानीको प्रतिफलसम्म बढाउन सफल भएको हो ।

यस्तै चुक्तापुँजी पनि कम्पनीले अघिल्लो वर्ष नै ८ अर्ब २ करोड रुपैयाँ पुर्याइसकेको छ । नेपाल बिमा प्राधिकरणले जीवन बिमा कम्पनीहरुको चुक्ता पुँजी ५ अर्ब पुर्याउनु पर्ने व्यवस्था गर्दा अधिकांश कम्पनीले सिमामा पुर्याउन सकेका छैनन । नेपाल लाइफ इन्स्योरेन्सले भने अघिल्लो आर्थिक वर्षमा नै चुक्ता पुँजी सिमा भन्दा माथि पुर्याएको थियो ।

कम्पनीले चालु आवमा ६ महिनामा २० अर्ब बिमाशुल्क संकलन गर्दा ६ अर्ब ९१ करोड रुपैयाँ बिमितलाई दाबी भुक्तानी दिएको हो । गत वर्षको सोही अवधिमा ८ अर्ब ४८ करोड रुपैयाँ दाबी भुक्तान गरेको कम्पनीले यस वर्ष १८।५१ प्रतिशतले कम रकम मात्रै बिमितलाई भुक्तान गरेको हो ।

यस्तै चालु आवको ६ महिनामा कम्पनीले ३ अर्ब १६ करोड रुपैयाँ प्रथम बिमाशुल्कबाट संकलन गरेको छ भने नविकरणमार्फत १६ अर्ब ८३ करोड रुपैयाँ संकलन गरेको छ ।

चालु आवको पुस मसान्तसम्म कम्पनीले बिमितलाई प्रति हजार बिमामा ५० रुपैयाँ देखि ८५ रुपैयाँसम्म लाभांश दिएको छ । गत वर्षको सोही अवधिमा कम्पनीले बिमितलाई अधिकतम ८२ रुपैयाँसम्म लाभांश दिएको थियो । यस्तै कम्पनीको प्रतिसेयर आम्दानी पनि १०।४२ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १२८।०१ रुपैयाँमा छ ।


क्लिकमान्डु