प्रक्रिया पूरा भएका कम्पनीका आईपीओ निष्कासन गर्न रोक्न हुँदैन: चन्द्र ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रक्रिया पूरा भएर पनि रोकिएका कम्पनीका आईपीओहरु निष्कासन गर्न अनुमति दिन आग्रह गरेका छन् ।

बुधबार इकोनोमिक मिडिया एशोसिएशन नेपाल (इमान) ले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले करिब २५ देखि ३० वटासम्म कम्पनीहरु नियमित आईपीओमा लैजानका लागि लाइनमा रहेको भए पनि केही महिना यता रोकिएको बताए ।

प्रिमियममा दिनुपर्ने र गम्भीर प्रकृतिका बाहेक प्रक्रिया पूरा गरिसकेका कम्पनीका आईपीओ निष्कासन गर्न दिनुपर्ने उनले बताए । धितोपत्र बोर्डको अध्यक्ष नभएकै कारण प्रक्रिया पूरा भइसकेका कम्पनीको आईपीओ निष्कासन रोक्नु नहुने उनले बताए ।

‘करिव २५ देखि ३० वटासम्म कम्पनीहरु जुन एउटा रेगुलर आईपीओमा लैजानका लागि लाइनमा छ । त्यो धेरै महिनाअघिबाट रोकिएको अवस्था छ । म के आग्रह गर्न चाहन्छु भने प्रिमियममा दिनुपर्ने, गम्भीर हिसावको इस्युहरु छन् भने भोलि अध्यक्ष ज्यु आइसकेपछि गर्ने होला तर एउटा प्रोसेसमा भएको र सबै पूरा गरेको एउटा चिठीको लागि मात्रै रोकिएका करिव मलाई लाग्छ ३० वटा जति कम्पनी लाइनमा छ । त्यस्तो किसिमको आईपीओमा जाने कुरा रोकिएको छ । हामीले मिडियामा पनि हेर्ने गरेका छौं, यो इस्युहरु धेरै उठेको छ । प्रक्रियामा भएको र प्रक्रियाको अन्तिम चरणमा पुगेको कम्पनीलाई आईपीओ निष्कासन गर्न दिनुपर्छ’ उनले भने ।

अध्यक्ष ढकालले बैंकबाट लिएको ऋण तिर्नै पर्दैन भन्ने हिसावले सन्देश गइरहेको कुराले आम सर्वसाधारणलाई अन्योल सिर्जना गरेको बताए । उनले निजी क्षेत्रको आत्मविश्वास कमजोर बनिरहेको बताए । नेपालमा लगानी गर्ने वतावरणमा विशेष ध्यान दिन आवश्यक रहेको उनले बताए ।


क्लिकमान्डु