प्रिमियम मूल्यमा आईपीओ जारी गरेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नाफामा ४ प्रतिशतको वृद्धि



काठमाडौं । प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नाफामा सामान्य वृद्धि देखिएको छ । गत वर्षको पुस मसान्तमा २२ करोड रुपैयाँ कुल नाफा कमाएको कम्पनीले चालु आवको पुस मसान्तमा २३ करोड रुपैयाँ नाफा कमाएको छ ।

कम्पनीको ६ महिनाको अपरिष्कृत वित्तीय विवरणअनुसार गत वर्षको सोही अवधिको तुलनामा चालु आवको नाफामा ४.५४ प्रतिशतको वृद्धि देखिएको हो ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियम शुल्क संकलन पनि ८.४२ प्रतिशतले बढाएको छ । गत वर्षको पुस मसान्तसम्म कम्पनीले कुल १ अर्ब ७८ करोड रुपैयाँ प्रिमियम शुल्क संकलन गरेकोमा यस वर्ष १ अर्ब ९३ करोड रुपैयाँ प्रिमियम संकलन गरेका हो ।

यस्तै कम्पनीले लगानी पनि ५३.८५ प्रतिशतले बढाएको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्म ९ अर्ब ४७ करोड रुपैयाँ लगानी गरेको कम्पनीले चालु आवको पुस मसान्तसम्म १४ अर्ब ५७ करोड रुपैयाँ लगानी गरेको हो ।

यस्तै कम्पनीले बिमितलाई दिने पोलेसी धितो कर्जालाई पनि बढाएको छ । जसले गर्दा कम्पनी ब्याज आम्दानी पनि चालु आवमा बढेको हो ।

चालु आवको पुस मसान्तसम्म कम्पनीले कुल ४२ करोड १९ लाख रुपैयाँ कर्जा लगानी गरेर १ करोड ५६ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत वर्षको पुस मसान्तसम्ममा कम्पनीले २८ करोड ४८ लाख रुपैयाँ कर्जा लगानी गरेर २४ लाख ६२ हजार रुपैयाँ मात्रै ब्याज आम्दानी गरेको थियो ।

कम्पनीको दाबी भुक्तानी पनि चालु आवमा बढेको छ । चालु आवको पुस मसान्तसम्ममा ५९ करोड ९४ लाख रुपैयाँ बिमितलाई बिमा वापतको दाबी भुक्तानी गरेको छ । कम्पनीले गत वर्षको पुस मसान्तसम्म कम्पनीले ५७ करोड ५ लाख रुपैयाँ मात्रै दाबी भुक्तानी गरेको थियो ।

चालु आवको दोस्रो त्रैमासमा कम्पनीले गर्ने कर्मचारीको खर्च पनि बढेको छ । गत आवको पुस मसान्तसम्ममा कम्पनीको सेवा सुविधामा कुल ११ करोड ६८ लाख रुपैयाँ खर्च गरेको कम्पनीले चालु आवको पुस मसान्तसम्ममा १५ करोड ९६ लाख रुपैयाँ खर्च गरेको हो ।

कम्पनीले जारी गर्ने नयाँ बिमा पोलिसीमा यस वर्ष कमी आएको छ। गत वर्षको ६ महिनामा कम्पनीले कुल ४ लाख ७४ हजार वटा बिमा पोलेसी जारी गरेको कम्पनीले चालु आवको ६ महिनामा २ लाख ४५ हजार वटा मात्रै बिमा पोलिसी जारी गरेको हो । तुलनात्मक रुपमा कम्पनीले चालु आवको ६ महिनामा जारी गरेको पोलेसीमा ४८.३१ प्रतिशतले कमी आएको हो ।

यस्तै कम्पनी प्रथम बिमाशुल्क वापत बिमितबाट चालु आवको पुस मसान्तसम्ममा कुल ६४ करोड ४५ लाख रुपैयाँ संकलन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७२ करोड ६३ लाख रुपैयाँ प्रथम बिमा शुल्क संकलन गरेको थियो ।

यस्तै कम्पनीले चाल आवको पुस मसान्तसम्ममा १ अर्ब २८ करोड रुपैयाँ बिमा नविकरणबाट संकलन गरेको छ ।

चालु आवको दोस्रोत्रैमासमा आइपुग्दा कम्पनीको चुक्ता पुँजी ४ अर्ब रुपैयाँ पुगेको छ । चुक्तापुँजी ५ अर्बको सिमामा पुर्याउन कम्पनीले प्रिमियम शुल्कमा आईपीओ जारी गरेको थियो । आईपीओबाट १ अर्ब ७५ करोड रुपैयाँ संकलन गरेपछि कम्पनीको पुँजी ४ अर्ब पुगेको हो ।

कम्पनीको प्रतिशेयर आम्दानी ११.५५ रुपैयाँ छ भने नेटवर्थ १७९.७१ रुपैयाँ रहेको छ ।


क्लिकमान्डु