नेशनल लाइफ इन्स्योरेन्सले ६ महिनामा कमायो साढे २५ करोड नाफा



काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको ६ महिनामा साढे २५ करोड रुपैयाँ नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार नाफा २५ करोड ५१ लाख रुपैयाँ पुगेको हो ।

गत वर्षको पुस मसान्तमा कम्पनीको यस्तो नाफा २१ करोड ८२ लाख रुपैयाँ थियो । तुलनात्मक रुपमा चालु आवको दोस्रो त्रैमासमा कम्पनीको नाफा १६.९१ प्रतिशतले वृद्धि भएको हो ।

जीवन बिमाको बजारमा तेस्रो ठूलो बिमा कम्पनीको रुपमा रहँदै आएको नेशनल लाइफ इन्स्योरेन्सले यस वर्ष पनि प्रिमियम शुल्कमा उल्लेख्य वृद्धि गरेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्म कुल ७ अर्ब ६८ करोड रुपैयाँ प्रिमियम शुल्क संकलन गरेको कम्पनीले चालु आवको पुस मसान्तसम्ममा ८ अर्ब ५६ करोड रुपैयाँको प्रिमियम शुल्क संकलन गरेको हो । गत वर्षको तुलनामा यस वर्ष प्रिमियम शुल्कमा ११.४५ प्रतिशतले वृद्धि भएको हो ।

चालु आवको पुस मसान्तसम्म इन्स्योरेन्सको बिमा पोलेसी बिक्री बढेर प्रिमियम शुल्क पनि उल्लेख्य वृद्धि भएको छ भने पोलेसी धितोकर्जा बापतको ब्याज र लगानीबाट उठेको ब्याज पनि बढेको छ । यता कम्पनीले दाबी भुक्तानीलाई पनि गत वर्षको तुलनामा घटाएको छ । जसले गर्दा चालु आवको दोस्रो त्रैमासमा नाफा बढाउन कम्पनीलाई गाह्रो परेन । कम्पनीले चालु आवको ६ महिनामै नाफामा १६.९१ प्रतिशतले वृद्धि गर्न सफल बनेको हो ।

कम्पनीले चालु आवको पुस मसान्तसम्म ८.०३ प्रतिशतले बढाएर कुल लगानी ६३ अर्ब ४५ करोड रुपैयाँ पुर्याएको छ । गत वर्षको पुस मसान्तसम्म कम्पनीको यस्तो लगानी ५८ अर्ब ७३ करोड रुपैयाँ थियो ।

यस्तै कम्पनीले पोलेसी धितो कर्जा वापत ११ अर्ब ३३ करोड रुपैयाँ लगानी गरेर ब्याज ४४ करोड ८७ लाख रुपैयाँ संकलन गरेको छ । गत वर्ष कम्पनीले १० अर्ब ५७ करोड रुपैयाँ धितोकर्जामा लगानी गरेर ३७ करोड ४१ लाख रुपैयाँ ब्याज संकलन गरेको थियो । चालु आवमा पोलेसी धितोकर्जाको ब्याज मात्रै १९.९ प्रतिशतले बढेको हो ।

बिमालेख ब्यापारमा सामान्य वृद्धि गरेको कम्पनीले प्रथम बिमाशुल्क पनि १ अर्ब ९९ करोड रुपैयाँ संकलन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ६२ करोड रुपैयाँ वापतको प्रथम बिमाशुल्क संकलन गरेको थियो ।

यस्तै कम्पनीले चालु आवको पुस मसान्तसम्ममा ६ अर्ब ५७ करोड रुपैयाँ बिमा नविकरणबाट संकलन गरेको छ । गत वर्ष कम्पनीले नविकरणबाट ६ अर्ब ५ करोड रुपैयाँ मात्रै संकलन गरेकोमा यस वर्ष ५० करोड बढि रकम संकलन गरेको हो ।

समग्रमा चालु आवको दोस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले ब्यापार उल्लेख्य बढाएको छ भने दाबी भुक्तानी पनि गत वर्षको तुलनामा घटाएको छ।

गत वर्षको पुस मसान्तसम्ममा कम्पनीले बिमितलाई ३ अर्ब ७६ करोड रुपैयाँ दाबी भुक्तानी गरेकोमा चालु आवको पुस मसान्तसम्ममा ३ अर्ब ७२ करोड रुपैयाँ मात्रै बिमितलाई दाबी भुक्तानी गरेको हो ।

दाबी भुक्तानीमा आएको सामान्य गिरावट र अन्य क्षेत्रमा देखिएको वृद्धिले गर्दा पनि कम्पनीको नाफामा सकारात्मक प्रभाव परेको देखिन्छ । नाफा बढाउन लागिपरेको कम्पनीले चालु आवमा कर्मचारीमा गर्ने लगानीलाई पनि ४६.०१ प्रतिशतले बढाएको छ। गत वर्ष कर्मचारीको सेवा सुविधामा १६ करोड १७ लाख रुपैयाँ खर्च गरेको कम्पनीले चालु आवको पुस मसान्तसम्ममा २३ करोड ६१ लाख रुपैयाँ खर्च गरेको हो ।

जीवन बिमा कम्पनीहरुले चुक्तापुँजी पुर्याउन नसकिरहेको बेला नेशनल लाइफ इन्स्योरेन्सले भने गत आवमै पुँजी सीमामा पुर्याइसकेको छ । कम्पनीको चुक्ता पुँजी ५ अर्ब १ करोड रुपैयाँ पुगेको हो । नेपाल बिमा प्राधिकरणले जीवन बिमा कम्पनीको चुक्तापुँजी ५ अर्बको सीमामा पुर्याउनुपर्ने व्यवस्था गरेको छ ।


क्लिकमान्डु