नेपाल टेलिकम २१ औं वर्षमा, सरकारी विद्यालयमा द्रुत गतिको फाइबर इन्टरनेट पुर्‍याउने



काठमाडौं । नेपाल टेलिकम २१ औं वर्षमा प्रवेश गरेको छ । टेलिकमले सोमबार राजधानीमा स्थापनाको २०औं वार्षिकोत्सव सम्पन्न गरेको छ । टेलिकमले वार्षिकोत्सवको अवसर पारेर सबै सरकारी तथा सामुदायिक विद्यालयमा द्रुत गतिको फाइबर इन्टरनेट फाइबर टु दि होम (एमटीटीएच) तथा नमस्ते वाइफाई सेवा दिने भएको छ ।

टेलिकमका प्रवन्ध निर्देशक संगिता पहाडीले टेलिकमले विगतमा भूकम्प प्रभावित क्षेत्रका लागि विभिन्न सहुलियत प्रदान गरेको सेवासँगै अब थप प्रभावकारी रुपमा कम्पनीको सेवा दिने बताइन् ।

‘आगामी दिनमा विभिन्न सामुदायिक विद्यालयहरूमा आईसीटी ल्याबको स्थापना गरिने, सरकारी तथा सामुदायिक विद्यालयहरुमा एफटीटीएच डाटा तथा नमस्ते वाईफाई उपलब्ध गराइने र वीर अस्पताल लगायत सामुदायिक अस्पतालहरुमा कुरुवाहरुको लागि बेडकम चियर उपलब्ध गराउने छ’ उनले भनिन् ।

कम्पनीको २१औं वार्षिकोत्सवको अवसरमा कम्पनीका कर्मचारी ग्राहकवर्गको घरदैलामै पुगेर टेलिकमका सेवा प्रदान गर्ने गरी माघ २१ गते दूरसन्चार कार्यालय, सुन्धाराबाट नेपाल टेलिकम अन ह्विल कार्यक्रम शुभारम्भ गरेको छ । यसलाई देशभर विस्तार गर्ने क्रममा रहेको टेलिकमको भनाइ छ ।

हाल सञ्चालनमा रहेको च्याटबक्सलाई स्तरोन्नति गरी एआई प्रविधिको लार्ज ल्याङ्वेज मोडल (एलएलएम)मा आधारित च्याटबक्सको सफ्ट लन्च गर्ने टेलिकमको तयारी छ ।

यसका साथै टेलिकमले डाटा तथा भ्वाइसमा एनटी एनिभरर्सरी अफर अन्तर्गत विभिन्न सेवा तथा सुविधा पनि उपलब्ध गराएको छ । यस्तो सेवा लिन नियमित प्रक्रियाकै झै टेलिकमको सेवा प्रयोग गरेर लिन सकिने पनि उल्लेख छ ।


क्लिकमान्डु