निर्माण सम्पन्न नहुँदै धरहरा उद्धघाटन गरेर केपी ओलीले भ्रष्टाचार गरेः बालेन



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले दुई वर्षअघि नै उद्धघाटन भएको धरहरा अहिलेसम्म कसरी निर्माणाधिन रहेको भन्दै प्रश्न गरेका छन् ।

बालेनले सोमबार बिहान सामाजिक सञ्जालमा लेख्दै दुई वर्ष ९ महिना २० दिनअघि नै तत्कालिन प्रधानमन्त्रीबाट उद्धघाटन भएको सेतो टावरमा पार्किंग खुल्ला गर्दा धरहरा निर्माण हुँदै गरेकाले पार्किंग बन्द गर्नुपर्ने पत्र आएको बताएका छन् । बालेनले उद्धघाटन भएको २ वर्ष ९ महिनापछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के भन्दै प्रश्न गरेका छन् । उनी भन्छन्, ‘पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नु भन्दा तत्कालीन प्रधानमन्त्री केपि ओलिले भन्नू भएको थियो ‘नबनेको भए म बिसौँ तलामा कसरी पुगेँ’ भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ ।’

सँगै उनले तोकिएको समयमा निर्माण भइनसक्ने, भित्तामा नाम लेख्ने हतारोमा निर्माण नभई उद्धघाटन हुने जस्तो प्रवृत्तिलाई भ्रष्टाचारकै नयाँ प्रकृति मानिने राष्ट्रिय नीति बनाउन पनि माग गरेका छन् । बालेनले संघीय र प्रदेश संसद तथा संघीय र प्रदेश सरकारले निर्माण पुरा नहुँदै उद्धघाटन गर्नु भ्रष्टाचार भएको नीति पारित गर्न जरुरी भएको बताएका छन् । उनी लेख्छन्, ‘निर्माण सम्पन्न नभइ उद्धघाटन गर्ने कुप्रवृत्तिलाई निरुत्साहित गरौं ।’

सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष असर गर्ने र शहरको व्यवस्थापनमा प्रभाव पार्ने यस्ता कुराहरूसँग ख्याल ठट्टा नगर्न पनि आग्रह गरेका छन् ।

सँगै बालेनले धरहराको भुईतलामा सुरु भएको पार्किंग बन्द नहुने र महानगरको पहलमा अहिलेका लागि निशूल्क सञ्चालन हुने र थप व्यवस्थापन गर्दै लैजाने बताएका छन् । धरहराको पाकिंगमा ठेक्का लगाएर नेपाल सरकारको सम्पत्ति माथि रजाइ गर्ने मनसाय देखिएका कारण महानगरमा आफू रहुन्जेल कसैको निजी स्वार्थका लागि सार्वजनिक सम्पत्ति प्रयोग हुन नदिने पनि बताएका छन् ।


क्लिकमान्डु