ठमेल प्लाजा होटल एण्ड सुईटले एकै वर्ष गर्यो साढे २३ करोडको व्यापार



काठमाडौं । ठमेल प्लाजा होटल एण्ड सुईटले एकै वर्ष साढे २३ करोड रुपैयाँको व्यापार गरेको छ ।

होटलले सन् २०२३ मा २३ करोड ६० लाख रुपैयाँको व्यापार गरेको हो । सन् २०२२ मा ११ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो । होटल एण्ड सुईटका अनुसार सन् २०२२ को तुलनामा सन् २०२३ मा व्यापार १११ प्रतिशतले बढेको छ ।

होटल एण्ड सुईटले सन् २०२३ मा ५२.८२ प्रतिशतले नाफा कमाएको छ । सन् २०२२ मा ४१.७८ प्रतिशतले नाफा कमाएको थियो । त्यस्तै, सन् २०२४ को ६ महिनाको अवधिमा १३ करोड रुपैयाँको व्यापार गरिसकेको जनाएको छ । होटलको ७२ प्रतिशत अकुपेन्सी प्रयोग भएको कम्पनीको भनाइ छ । सन् २०२३ को सोही अवधिमा ६४ प्रतिशत क्षमतामा सञ्चालन भएको थियो ।

ठमेलमा सञ्चालनमा रहेको चार तारे होटल ११७० स्क्वारफिट क्षेत्रफलमा फैलिएको छ । होटलमा ९० वटा कोठाको सुविधा छ । होटल सन् २०२१ देखि सञ्चालनमा आएको थियो । होटल ‘रामदा इन्कोर काठमाडौं’ ब्रान्डमा सञ्चालन भइरहेको छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ८० करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ७७ करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि ३ करोड रुपैयाँको रेटिङ गराएको छ ।

होटलमा स्वीमिङ पुल, स्पा, कन्फरेन्स हल र अन्य विभिन्न सेवाको सुविधा दिँदै आएको छ । जगन्नाथ ज्ञवाली अध्यक्ष रहेको कम्पनीले वाइन्धाम होटल एसिया प्यासिफक कम्पनीसँग सझौता गरेर होटल चेन भित्र्याएको छ । विश्वभर ‘रामदा इन्कोर’ ब्रान्डमा होटल सञ्चालन गर्दै आएको कम्पनीको ६० भन्दा बढी देशमा ८५० वटा होटल छन् ।


क्लिकमान्डु