नयाँ लगानीकर्ता थपेर बजार विस्तारमा आक्रामक यती एयर, एकैदिन दुईवटा जहाज भित्र्याउँदै



फाइल फोटो

काठमाडौं । नयाँ लगानीकर्ता थपिएसँगै निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी यती एयरलाइन्सले आक्रामक बजार विस्तारको योजना बनाएको छ । यतीको सोही योजना अनुसार धमाधम जहाज थप गर्न थालेको छ ।

यतीले एसियन लाइफलाई नयाँ लगानीकर्ताको रूपमा भित्र्याएसँगै दुई वटा जहाज थप गरेको छ । यतीले थप गरेको दुईवटा जहाज विहीबार बिहान काठमाडौं विमानस्थलमा अवतरण गर्ने भएका छन् ।

यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार भोलि (विहीबार) करिब ११ बजे दुईवटा एटीआर जहाज आउँदै छन् । ९एन एओएफ र ९एन एओएच कलसाइनको एटीआर ७२–५०० नामक ७२ सिट क्षमताका जहाज आउँदै छ ।

यतीले बंगलादेशको नोभा एयरसँग ती दुई जहाज खरिद गरेको हो । ढाकाबाट आउने उक्त जहाजलाई भित्र्याएर यतीले भएकै उडान गन्तव्यमा सेवा विस्तार गर्ने हो ।

एक दशक अगाडि ७ वटासम्म २९ र ३० सीट क्षमताको जेटस्ट्रीम जहाजबाट उडान गरेरै ६५ प्रतिशतसम्मको बजार हिस्सा पु¥याएको यो वायुसेवलाई आफ्नै गुमेका बजार फिर्ता ल्याउनुपर्ने चुनौती छ । यतीको प्रयास अब गुमेको हिस्सालाई फिर्ता ल्याउने गरी काम गर्नुपर्ने भएकोले पनि आक्रामक बजार विस्तारमा लागेको हो ।

यो वायुसेवासँग हाल ५ वटा एटीआर जहाज छन् । थप दुई जहाजले थपिएसँगै आगामी एक महिनाभित्रै यो वायुसेवाले ७ वटा जहाजबाट नियमित उडानको सेवा दिने छ । यतीले आगामी एक वर्षभित्रै जहाज सख्ंया १० वटा पु¥याउने घोषणा अनौपचारिक रूपमा गरिसकेको छ ।

यतीले गुमेको बजार हिस्सालाई विस्तारै बढाउन सुगम क्षेत्रकै र हाल उडान भएकै गन्तव्यमा सेवा दिने भएको छ ।  यतीले हाल काठमाडौंबाट भद्रपुर, भैरहवा, विराटनगर, जनकपुर, नेपालगञ्ज र पोखरा उडान गर्छ । नयाँ जहाजले यही गन्तव्यमा सेवा विस्तार गर्ने भएको छ । यो वायुसेवाले सन् २०२३ मा मात्रै ७ लाख १७ हजार यात्रुलाई सेवा दिएको छ । जहाजको संख्या बढाउँदै आगामी वर्ष यात्रु सेवा संख्या पनि उल्लेख्य रूपमा बढ्ने यतीको भनाइ छ ।


क्लिकमान्डु