पुनर्बीमा कम्पनीले चुक्ता पुँजी दोब्बर बढाउनु पर्ने, कुनकाे कति ?



काठमाडौं । जीवन बिमा कम्पनी पछि पुनर्बीमा कम्पनीले पनि चुक्ता पुँजी बढाउनुपर्ने भएको छ।

नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीले पनि चुक्ता पुँजी बढाउनु पर्ने निर्णय गरेको हो । आज (बुधबार) बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले पुनर्बीमा कम्पनीले चुक्ता पुँजी दोब्बरले बढाउनुपर्ने निर्णय गरेको हो ।

प्राधिकरणका प्रवक्ता राजुरमण पौडेलले पुनर्बीमा कम्पनीले चुक्ता पुँजी २० अर्बको सिमामा राख्नुपर्ने निर्णय भएको बताए । ‘जीवन बिमा कम्पनीको जोखिम बहन गर्ने क्षमता बढाएपछि पुनर्बीमाको पनि बढाउनुपर्ने भएकोले २० अर्बको सिमा राखिएको हो,’उनले भने ।

नेपालमा अहिले पुनर्बीमा कम्पनी २ वटा मात्रै छन् । सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनी र निजी स्वामित्वको हिमालयन रि इन्स्योरेन्स रहेका छन् । अब यी दुबै कम्पनीले चुक्ता पुँजी २० अर्ब पुर्याउनु पर्नेछ ।

असार मसान्तसम्मको वित्तीय विवरणअनुसार नेपाल पुनर्बीमा कम्पनीको चुक्ता पुँजी १२ अर्ब ८१ करोड रुपैयाँ छ भने हिमालयन रि इन्स्योरेन्ससँग १० अर्ब रुपैयाँ रहेको छ । अब पुनर्बीमा कम्पनीले ५६.१ प्रतिशत र हिमालयन रि इन्स्योरेन्सले एक सय प्रतिशतले चुक्ता पुँजी बढाउनु पर्नेछ ।

यसअघि प्राधिकरणले जीवन बिमा कम्पनीले चुक्तापुँजी ५ अर्ब र निर्जीवन बिमा कम्पनीले चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउनुपर्ने व्यवस्था गरेको थियो ।


क्लिकमान्डु