साझा यातायातको सीईओमा परेन आवेदन, १५ दिन समय थपियो



काठमाडौं । साझा यातायातको प्रमुख कार्यकारी अधिकृत पदको लागि माग गरिएको दरखास्तमा आवेदन नपरेपछि पुनः सूचना प्रकाशित गरिएको छ ।

रिक्त रहेको साझा यातायातको प्रमुख कार्यकारी अधिकृत पदका लागि खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्नका लागि मंसिर २५ गते सूचना प्रकाशित गर्दै दरखास्त आह्वान गरिएको थियो । तर, उक्त पदका लागि तोकिएको म्यादभित्र आवश्यक दरखास्त नै पर्न सकेन ।

साझा यातायातले ४५ दिनको म्याद राख्दै यसअघि आवेदन माग गरेको थियो । तर, उक्त मागअनुसार आवेदन पर्न नसकेको कम्पनीले जनाएको छ ।

तोकिएको समयमा दरखास्त नपरेकाले साझा यातायातले पुनः सूचना निकाल्दै आगामी १५ दिनसम्म आवेदन दिन सक्ने जनाएको छ ।

साझा यातायातका अनुसार कम्तिमा स्नातकोत्तर वा सो सरह उत्तीर्ण गरी सार्वजनिक वा संगठित संस्थामा १०औं तह वा सो सरहको जिम्मेवारी लिएको र सहकारी वा सार्वजनिक प्रशासन वा यातायात व्यवस्थापनको क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव हासिल गरेको व्यक्तिले आवेदन दिन सक्नेछन् ।

आवदेन दिने व्यक्ति दरखास्त दिने मितिसम्म ४५ वर्ष पूरा भएको र ५८ वर्ष उमेर ननाघेको हुनुपर्ने कम्पनीले जनाएको छ । आवेदन दिनेमध्येबाट छनोटमा पर्नेहरुले व्यावसायिक कार्ययोजना बनाई त्यसमा प्रस्तुतीकरण दिनुपर्नेछ ।


क्लिकमान्डु