बढ्दो क्रममा छुर्पी निर्यात, ११ वर्षमा १४ अर्बको निकासी



काठमाडौं । गाईभैंसीको दुधबाट बनाइने छुर्पीको निर्यात बढ्दो क्रममा छ । सरकारी तथ्यांकअनुसार छुर्पीको माग बढ्दै जाँदा हरेक वर्ष निर्यात उच्च हुँदै गएको हो ।

भन्सार विभागको तथ्यांकअनुसार पछिल्ला वर्षहरुमा छुर्पीको माग झनै बढ्दै गएको देखिन्छ । नेपालले पछिल्लो ११ वर्षमा मात्रै करिब १४ अर्ब रुपैयाँ बराबरको छुर्पी विभिन्न मुलुकमा निर्यात भएको छ ।

नेपालबाट उक्त छुर्पी कुकुर तथा बिरालोको खानाको रुपमा निर्यात हुँदै आएको छ । दुधबाट बनाइने उक्त छुर्पी नेपालमा पनि उच्च माग छ । नेपालमा विशेषगरी पहाडी जिल्लाका किसानहरुले छुर्पी उत्पादन गरी आन्तरित तथा विदेशमा निर्यात गर्दै आइरहेका छन् ।

भन्सार विभागको तथ्यांकअनुसार नेपालले पछिल्लो ११ वर्षमा मात्रै करिब १४ अर्ब रुपैयाँ बराबरको छुर्पी निर्यात गरेको छ । विगतको दिनमा करोडमा निर्यात हुने छुर्पी अहिले अर्बौं रुपैयाँको निर्यात हुँदै आएको छ । छुर्पी बढी मात्रामा निर्यात हुन थालेपछि सरकारले मुख्य निर्यातित वस्तुको रुपमा राख्दै आएको छ ।

नेपालले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा मात्रै १ अर्ब ४१ करोड २९ लाख रुपैयाँको निर्यात गरेको छ । गत वर्षको सोही अवधिमा नेपालले १ अर्ब ३४ करोड ७१ लाख रुपैयाँको निर्यात गरेको थियो । जसमा गत वर्षको तुलनामा यो वर्षको सोही अवधिमा ४.९ प्रतिशतले बढी निर्यात गरेको छ । छुर्पीको मागसँगै बजार फैँलिदै जाँदा मूल्य पनि बढ्दै गएको पाइन्छ । साथै, व्यवसायीहरुले पनि उचित मूल्य पाउन थालेका छन् । अहिले छुर्पीको मूल्य प्रतिकेजी करिब २ हजारको हाराहारी छ ।

नेपालले १० वर्षअघि वार्षिक २६ करोड रुपैयाँको हाराहारीमा निर्यात गरेको थियो । नेपालले आर्थिक वर्ष २०७०/७१ मा २६ करोड ८८ लाख रुपैयाँको छुर्पी निर्यात गरेको थियो ।

त्यस्तै, नेपालले आव २०७१/७२ मा २८ करोड ३८ लाख रुपैयाँको र आव २०७२/७३ मा ४२ करोड ६९ लाख रुपैयाँको छुर्पी निर्यात गरेको थियो । तर, आव २०७३/७४ मा भने निर्यात घटेको पाइएको छ । नेपालले सो वर्ष २५ करोढ ८० लाख रुपैयाँको मात्रै निर्यात गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ । उक्त वर्षपछि छुर्पीको माग निरन्तर बढेको तथ्यांकले उल्लेख गर्छ ।

नेपालले आव २०७४/७५ मा ८५ करोड ७९ लाख रुपैयाँको, आव २०७५/७६ मा १ अर्ब ५ करोड २८ लाख रुपैयाँको आव २०७६/७७ मा १ अर्ब २२ करोड ८३ लाख रुपैयाँको, आव २०७७/७८ मा १ अर्ब ९६ करोड ५० लाख रुपैयाँको आव २०७८/७९ मा २ अर्ब ७५ करोड ८२ लाख रुपैयाँ र आव २०७९/८० मा ३ अर्ब ४० करोड ९० लाख रुपैयाँको छुर्पी निर्यात गरेको छ ।

अमेरिका मुख्य बजार, अन्य कुन–कुन देशमा हुन्छ निर्यात ?

नेपालले ६ महिनाको अवधिमा २२ वटा देशमा छुर्पी निर्यात गरेको छ । त्यसमध्ये नेपाली छुर्पीको मुख्य बजार अमेरिका हो । भन्सार विभागको तथ्यांकअनुसार नेपालले ६ महिनाको अवधिमा करिब डेढ अर्बको निर्यात गर्दा अमेरिकामा मात्रै १ अर्ब २५ करोड रुपैयाँको ६ लाख ३० हजार ४९१ केजी निर्यात गरेको छ ।

अमेरिकापछि क्यानाडामा ८ करोड ६३ लाख रुपैयाँको ३८ हजार ६२७ केजी छुर्पी निर्यात गरेको छ । त्यसैगरी बेलायतमा २ करोड २८ लाख रुपैयाँको ९ हजार ७८ केजी, दक्षिण कोरियामा १ करोड ८ लाख रुपैयाँको ४ हजार ८६७ केजी, जापानमा ९२ लाख रुपैयाँको ४ हजार ८६९ केजी, हङकङमा ५९ लाख रुपैयाँको ६ हजार ९८७ केजी, ताइवानमा ४९ लाख रुपैयाँको २ हजार १३९ केजी र मेलेसियामा ४७ लाख रुपैयाँको २ हजार १४७ केजी छुर्पी निर्यात गरेको छ ।

नेपालले सिंगापुरमा ४० लाख रुपैयाँको, ग्रिसमा ३७ लाख रुपैयाँको, नेदरल्यान्डमा ३६ लाख रुपैयाँको, युएईमा २७ लाख रुपैयाँको, थाइल्यान्डमा १३ लाख रुपैयाँको, फिलिपिन्सको ११ लाख रुपैयाँको, चीनमा ६ लाख रुपैयाँको, फ्रान्समा २ लाख रुपैयाँको, न्यूजिल्यान्डमा १ लाख ६३ हजार रुपैयाँको र कतारमा १ लाख ३४ हजार रुपैयाँको छुर्पी निर्यात गरेको छ । साथै, नेपालबाट भारत, स्लोभाकिया, इटली र फिन्ल्यान्डमा पनि छुर्पी निर्यात हुने गरेको छ ।


अरिष्मा मोक्तान