लुम्बिनीमा १ अर्ब खर्चेर प्रभुले बनाइरहेको केबलकार अन्तिम चरणमा, रामेछाप र सिन्धुलीमा पनि बनाउने



काठमाडौं । प्रभु केबवलकार एण्ड टुरिजम लिमिटेडले लुम्बिनीमा निर्माण गरिरहेको सिद्धार्थ केवलकारको निर्माण करिब ८५ प्रतिशत सकिएको छ ।

बुटवलबाट श्रीकाल भैरव कामना मन्दिरदेखि फूलबारी पार्क नजिकै रहेको देउराली डाडाँसम्म केवलकार सञ्चलान गर्न लागिएको हो ।

देउराली डाँडामा पार्क पनि निर्माण हुने कम्पनीले जनाएको छ । पार्कमा कमलको फूलमाथि ५० फिट अग्लो भगवान बुद्धको मूर्ति राखिने क्रममा रहेको कम्पनीका अध्यक्ष भोजकुमार खड्काले बताए । अहिले मूर्ति निर्माणकार्य अन्तिम चरणमा रहेको उनले बताए । केबलकारको दूरी तीन किलोमिटर रहेको छ ।

‘२०८१ वैशाखदेखि सञ्चालनमा जाने गरी काम भइरहेको छ’ अध्यक्ष खड्काले भने ‘बीचमा केही अवरोध भएको खण्डमा असारसम्म सञ्चालन गर्ने तयारी गरेका छौं । दुई महिनादेखि रोपको परीक्षण भइरहेको छ ।’

केवलकारमा २५ वटा गोन्डोला रहने र फागुन अन्तिमसम्म जडान गरिसकिने उनको दाबी छ ।

निर्माणको काम ४ वर्षदेखि सुरु भएको आयोजनामा १ अर्ब ३ करोड लगानी भएको अध्यक्ष खड्काले बताए । उक्त लगानीमा ४७ करोड रुपैयाँ कर्जा एनएमबि बैंकले लगानी गरेको छ ।

केबलकार निर्माण भएपछि बौद्ध धर्मावलम्बीहरूको बाहुल्यता भएका देशका बौद्ध धर्मावलम्बीहरूले भ्रमण गर्ने कम्पनीको दाबी छ ।

उक्त क्षेत्रमा श्रीलंका, भुटान, म्यानमार, कम्बोडिया, दक्षिण कोरिया, थाइल्याण्ड, मंगोलिया, लाओस, हङकङ, सिंगापुर र चीनका पर्यटन बढ्ने कम्पनीको विश्वास छ । कम्पनीले खाडादेवी केवलकार, सिद्धबाबा केवलबार पनि निर्माण गर्ने तयारी गरेको छ ।

कम्पनीले रामेछाप र सिन्धुलीका दुई जिल्लालाई केवलकारको माध्यमबाट जोडने तयारी गरेको छ । यसको तल्लो स्टेशन मुलकोटमा र माथिको स्टेशन खाँडादेवी मन्दिरमा हुने कम्पनीले जनाएको छ । यसको दूरी मुलकोट बजारदेखि करिब ४ किलोमिटरको हुनेछ ।

कम्पनी अन्तर्गतका प्रभु उर्जा कृषि तथा उर्जा परियोजना, प्रभु स्टिल्स एण्ड हाइड्रो इक्विपमेन्ट इण्डस्ट्रिज, प्रभु आवास तथा निर्माण सहायक कम्पनी रहेका छन् ।

कम्पनीले केही वर्षभित्र साधारण सेयर आईपीओ निष्कासन गर्ने जनाएका छ । अहिले भने कम्पनीको संस्थापक सेयर बिक्री भइरहेको छ। कम्पनीको चुक्ता पुँजी ३५ करोड रुपैयाँ रहेको छ ।

सिद्धार्थ केवलकार सञ्चालनमा आएपछि अन्य आयोजनाहरु पनि निर्माणको चरणमा धमाधम जाने अध्यक्ष खड्काको भनाइ छ ।


क्लिकमान्डु