बैंकबाट राज्यले पाउने आयकर ९४ करोड ४० लाखले घट्यो, सबैभन्दा बढी नबिलले तिर्‍यो (कुनको कति)



काठमाडौं । राजस्वको लक्ष्य भेट्टाउन हम्मे हम्मे परेको सरकारलाई अर्को धक्का लागेको छ । सधै सबै परिस्थितीमा नाफामात्र कमाए भनेर आरोप लागेका बैक तथा वित्तीय संस्थामा आर्थिक संकुचनले पारेको असरका कारण नाफा घट्दै जाँदा सरकारले पाउने कर पनि घट्दै गएको हो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंक तथा वित्तीय संस्थाको उल्लेख्यरुपमा नाफा घटेका कारण सरकारले पाउने कर पनि घटेको छ । बैकहरुले प्रकाशित गरेको दोस्रो त्रैमासको वित्तीय विवरणका अनुसार पुस मसान्तमा बैकहरुको नाफा ९.९४ प्रतिशतले घटेका कारण सरकारले पाउने कर पनि ६.७७ प्रतिशतले घटेको छ ।

गत आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकहरुले राज्यलाई १३ अर्ब ९३ करोड ७३ लाख ९० हजार रुपैयाँ आयकर तिरेका थिए भने चालु आर्थिक वर्षको पुस मसान्तसम्म राज्यले बैंकिङ क्षेत्रबाट पाउने कर ९४ करोड ४० लाख ९० हजार रुपैयाँले घटेको छ । चालु आवको पुस मसान्तमा उक्त कर ६.७७ प्रतिशतले घटेर १२ अर्ब ९९ करोड ३३ लाख रुपैयाँमा खुम्चिएको हो ।

आयकर ऐन २०५८ अनुसार बैंक तथा वित्तीय संस्थाले आम्दानीको ३० प्रतिशत आयकर राज्यलाई तिर्नुपर्छ ।

चालु आवको पुस मसान्तसम्ममा बैंकहरुले २८ अर्ब ७६ करोड ५२ लाख ४० रुपैयाँँ नाफा कमाएका छन् । गत आवको सोही अवधिमा बैंकहरुको नाफा ३१ अर्ब ९४ करोड २३ लाख ३९ हजार रुपैयाँ रहेको थियो । गत आवको पुसमसान्तको तुलनामा चालु आवको सोही अवधिमा बैंकहरुको नाफा ९.९४ प्रतिशतले घटेको छ ।

बैंकहरुको नाफामा संकुचन आएसँगै सरकारले प्राप्त गर्ने आयकर पनि घटेको तथ्यले देखाउँछ । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमा ८ वटाले राज्यलाई बुझाउने कर बढेको छ भने १२ वटाको घटेको छ ।

गत आवको दोस्रो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा राज्यलाई बढि कर तिर्ने बैंकमा हिमालयन, प्राइम, एभरेष्ट, प्रभु, कुमारी, सिद्धार्थ, कृषि विकास, माछापुच्छे र सिटिजन्स बैैंक रहेका छन् ।

यस अवधिमा सबैभन्दा धेरै आयकर तिर्ने नबिल बैंक भएको छ । बैंकले पुस मसान्तसम्म राज्यलाई १ अर्ब ३१ करोड ८६ लाख ७१ हजार रुपैयाँ कर बुझाएको हो । तर, उक्त रकम पनि गत आवको सोही अवधिको तुलनामा ९.९८ प्रतिशत कम हो ।

धेरै आयकर तिर्ने दोस्रोमा हिमालयन बैंक रहेको छ । बैंकले चालु आवको सोही अवधिमा ९३ करोड ३६ लाख ११ हजार रुपैयाँ आयकर तिरेको छ । जुन गत आवको सोही अवधिमा १३५.५० प्रतिशत बढी हो ।

यस्तै तेस्रो स्थानमा प्राइम बैंक रहेको छ । प्राइम बैंकले ९३ करोड ५४ लाख ९२ हजार रुपैयाँ आकयर तिरेको छ । जुन गत आवको सोही अवधिभन्दा ३१.७० प्रतिशतले बढी हो ।

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले ८६ करोड ३७ लाख ३८ हजार रुपैयाँ आयकर बुझाएको छ । जुन गत आवको पुस मसान्तको तुलनामा २५.७० प्रतिशत कम हो ।

राज्यलाई आयकर तिर्ने पाँचौ नम्बरमा ग्लोबल आइएमई बैंक रहेको छ । बैंकले ७८ करोड १४ लाख ५७ हजार कर तिरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा २२.३० प्रतिशतले कम हो ।

नेपाल इन्भेष्टमेन्ट बैंकले ७७ करोड ९१ लाख ७५ हजार रुपैयाँ कर तिरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा १२.८५ प्रतिशतले कम हो ।

स्टयान्डर्ड चार्टर्ड बैंकले पनि राज्यलाई तिर्ने कर १.५५ प्रतिशतले घटेको छ । बैंकले राज्यलाई ७३ करोड ९८ लाख ९८ हजार करोड तिरेको छ ।

एभरेष्ट बैंकले राज्यलाई ७३ करोड ४२ लाख ६ हजार रुपैयाँ कर तिरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ७.८८ प्रतिशत बढी हो ।

प्रभु बैंकले राज्यलाई तिर्ने कर ७६.३७ प्रतिशतले बढेर ७२ करोड ६८ लाख ८ हजार रुपैयाँ पुगेको छ ।

एनआईसी एशिया बैंकले ७० करोड ५७ लाख ३१ हजार कर तिरेको छ । जुन २०७९ पुस मसान्तको तुलनामा ४९.६९ प्रतिशतले कम हो ।

कुमारी बैंकले राज्यलाई तिर्ने आयकर १४.७७ प्रतिशतले बढेर ६३ करोड ९३ लाख ९६ हजार रुपैयाँ पुगेको छ ।

एनएमबि बैंकले राज्यलाई ५६ करोड ४४ लाख ३५ हजार रुपैयाँ कर तिरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा २९.४४ प्रतिशतले कम हो ।

सिद्धार्थ बैंकले ५० करोड ५५ लाख ७१ हजार कर तिरेको छ । यो भनेको गत आवको पुस मसान्तको तुलनामा १.६७ प्रतिशतले बढी हो । कृषि विकास बैंकले २०७९ पुस मसान्तको तुलनामा राज्यलाई तिर्ने कर २३९०.३८ प्रतिशतले बढाएर ५० करोड २८ लाख ५७ हजार रुपैयाँ पुर्याएको छ ।

माछापुच्छे« बैंकले राज्यलाई ४९ करोड १९ लाख ७३ हजार रुपैयाँ कर तिरेको छ । जुन गत आवको दोस्रो त्रैमासको तुलनामा ११.९६ प्रतिशतले बढी हो । सानिमा बैंकले ४३ करोड ५८ लाख ६२ हजार कर तिरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा १८.७४ प्रतिशतले कम हो ।

लक्ष्मी सनराइज बैैंकले राज्यलाई तिर्ने आयकर ६.१० प्रतिशतले घटेर ३९ करोड ३९ लाख ८१ हजार रुपैयाँ रहेको छ भने नेपाल एबसिआई बैंंकले तिर्ने कर २३.५८ प्रतिशतले घटेर ३८ करोड ५५ लाख २९ हजार रुपैयाँ रहेको छ ।

सिटिजन्स बैंकले पुस मसान्तमा ३५ करोड १३ लाख ११ हजार कर तिरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा २.५६ प्रतिशतले कम हो ।

सबैभन्दा कम आयकर तिर्नेमा नेपाल बैंक रहेको छ । बैंकले राज्यलाई तिर्ने कर ५१.०३ प्रतिशतले घटेर १७ करोड ३५ लाख ९७ हजार रुपैयाँ रहेको छ ।

गत आवमा सनराइज बैंकले २८ करोड २ लाख ६७ हजार र सिभिल बैंकले २७ करोड ३८ लाख ७० हजार रुपैयाँ कर तिरेका थिए ।

सनराइज बैंक लक्ष्मीमा र सिभिल बैंंक हिमालयन बैंकसँग मर्ज भइसकेका छन् । लक्ष्मी सनराइज बैंक मर्ज भएर २०८० असार २९ गतेदेखि एकीकृत कारोबार भएको हो । यस्तै हिमालयनले सिभिल बैंकलाई प्राप्ति गरेर २०७९ फागुन १२ गतेदेखि एकीकृत कारोबार भएको हो ।

आर्थिक मन्दीका कारण बैंकहरुले कर्जा लगानी बढाउन सकेका छैनन् भने ६ महिनामा अर्थात पुस मसान्तसम्म बैंकहरुको उठाउन बाँकी ब्याज नै १६ अर्ब ७ करोड रुपैयाँ रहेको छ ।

एकातिर खराब कर्जा बढ्दो क्रममा छ भने अर्कोतिर उठ्न बाँकि ब्याज आम्दानी पनि बढेको छ । सरकारले बैंकको उठ्न बाँकि ब्याज आम्दानीको कर पनि उठाइसकेको कारण बैंकहरुलाई दबाब सिर्जना भएको छ ।

यसकासाथै, पछिल्लो समय बैंकहरुको कर्जा लगानी घट्दो क्रममा छ । जसले गर्दा सरकारले पाउने कर अझै घट्ने र राजश्वको लक्ष्य भेट्न थप समस्या हुने देखिन्छ ।

त्यसैले सरकारको राजश्वको राम्रो स्रोत रहेका बैक तथा वित्तीय संस्थाको नाफा घट्दा सरकारलाई आगामी आर्थिक वर्षको बजेटमा स्रोत व्यवस्थापनमा थप समस्या हुने देखिन्छ ।


सोभित थपलिया