आइएमई लाइफ इन्स्योरेन्सको नाफा ९६.१४ प्रतिशतले बढ्यो, के छ भावी योजना ?



काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २३ करोड ४७ लाख २५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा ९६.१४ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले ११ करोड ९६ लाख ७५ हजार नाफा आर्जन गरेको थियो ।

कम्पनीका अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २ अर्ब १० करोड ८२ लाख रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमाको तुलनामा कुल बीमा शुल्क आर्जन १२.३३ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा १ अर्ब ८७ करोड ६८ लाख कुल बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीले २०८० पुस मसान्तसम्म १ अर्ब ९९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ७९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । यो अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन ११.२० प्रतिशत बढेको छ ।

११.२० प्रतिशतले खुद बिमा शुल्क बढाएको कम्पनीको कमिशन शुल्क भने ८.९९ प्रतिशतले घटेर २० करोड ४४ लाख रुपैयाँमा खुम्चिएकोे छ । गत आवको सोही अवधिमा २२ करोड ४६ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीको चुक्ता पुँजी ४ अर्ब रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले सेयर प्रिमियम शिर्षकमा १ अर्ब ५३ करोड रुपैयाँ संचित गरेको छ । यस अवधिमा कम्पनीको महाविपत्ती कोषमा १५ करोड ३५ लाख रुपैयाँ र संचित जगेडा कोषमा ८५ करोड २ लाख रुपैयाँ राखेको छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ११ रुपैयाँ ७४ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १७७ रुपैयाँ २७ पैसा रहेको छ ।

गत आवको पुस महिनाको तुलनामा चालु आवको सोही अवधिमा इन्स्योरेन्सले बिमितलाई दिने बोनस दर बढाएको छ । गत आवको पुसमा बिमीतलाई दिने २० देखि ७० रुपैयाँ बोनसलाई अहिले बढाएर २२ देखि ८० रुपैयाँ दिने जनाएको छ ।

एक वर्षको अवधिमा कम्पनीले १ लाख ८५ बिमा पोलिसी बढाएर ४ लाख १५ हजार ५०० बिमा पोलिसी बिक्री गरेको छ । कम्पनीले सिंगल प्रिमियमबाट हुने आम्दानी घटाएको छ भने नविकरण बिमा शुल्कबाट हुने आम्दानी बढाएको छ ।

२०७९ पुसमा ४ करोड १३ लाख ६७ हजारको सिंगल बिमालेख बिक्री गरेको कम्पनीले २०८० पुसमा सिंगल बिमालेखबाट २ करोड ५५ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ ।

नविकरणीय बिमालेख जारी गरेर गत पुसमा १ अर्ब ३४ करोड ७८ लाख रुपैयाँ आर्जन गरेको कम्पनीले २०८० पुसमा १ अर्ब ४३ करोड ५९ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ ।

कम्पनीको दाबी भुक्तानीको संख्या दोब्बर भन्दा धेरैले बढेको छ । २०७९ पुसमा ४२१ वटा दाबी भुक्तानी गरेको कम्पनीले २०८० पुसमा ८७४ वटा दाबी भुक्तानी गरेको छ ।

कम्पनीले दाबी भुक्तानी फर्छयौटमा प्रभावकारी रुपमा काम गरेको देखिन्छ । गत आवको पुसमा ३१ वटा दाबी भुक्तानी फर्छयौट गर्न बाँकी रहेकोमा यो पुसमा २८ वटा मात्रै बाँकी रहेको छ ।

एक वर्षको अवधिमा कम्पनीले साढे ३ अर्ब रुपैयाँले लगानी बढाएर २०८० पुसमा १३ अर्ब ४७ करोड ८० लाख रुपैयाँ लगानी गरेको छ । जसमध्ये २ अर्ब ८६ करोड अल्पकालिन र १० अर्ब ६१ करोड ६३ लाख दीर्घकालीन लगानी गरेको छ ।

कम्पनीले आगामी दिनमा लगानीको विविधिकरण गर्ने, सम्पति तथा दायित्वको प्रभावकारी व्यवस्थापन गर्ने, मानव संशाधनको उचित व्यवस्थापनका लागि भर्चुअल तालिम दिने र डिजिटाइजेशनमा केन्द्रित रहने रणनीति बनाएको छ ।


क्लिकमान्डु