निर्देशन दिएरै भिडियो बनाउन सकिने गुगलको ल्यूमियर एआई सार्वजनिक



एजेन्सी । प्रविधि कम्पनी गुगलले लेखेर निर्देशन दिएरै भिडियो (टेक्स्ट टु भिडियो) बनाउन सक्ने एआई सार्वजनिक गरेको छ ।

कम्पनीले आफ्नो पछिल्लो एआई मल्टीमोडेल ल्युमियर सार्वजनिक गर्दै यसबाट प्रयोगकर्ताले अक्षरदेखि भिडियो र तस्बिरबाट भिडियो बनाउन सक्ने जानकारी दिएको हो ।

कम्पनीकाअनुसार यो एआईले वास्तविक जस्तै विभिन्न किसिमका मोसनहरु सिर्जना गरेर भिडियो बनाउन सक्छ ।

गुगलकाअनुसार ल्युमियरमा प्रयोगकर्ताले कि लेखेर निर्देशन दिनुपर्ने हुन्छ वा कुनै तस्बिर दिएर निर्देशन दिनुपर्ने हुन्छ । त्यसपश्चात भने एआईको न्यूरल नेटवर्कले निर्देशन वा तस्बिरमा आधारित रहेर भिडियो सिर्जना गरेर दिनेछ ।

ल्युमियर एआई परम्परागत भिडियो मोडलको विपरित स्पेस टाइम यू नेट आर्किटेक्चर मोडलमा आधारित भएर निर्माण गरिएको कम्पनीले जनाएको छ ।

उक्त मोडलमा एआईले कुनै एउटा फ्रेमकै आधारमा पुरै भिडियो निर्माण गर्न सक्छ । हाल भइरहेका भिडियो निर्माण गर्ने एआईले भने एक समयमा विभिन्न फ्रेमहरुलाई संश्लेषित गर्ने र भिडियो निर्माण गर्ने गर्छन ।


क्लिकमान्डु