जीवन बिमा कम्पनीहरुको प्रिमियम शुल्कमा १७ करोडले वृद्धि, प्रथम बीमा शुल्क कति ?



काठमाडौं । जीवन बिमा कम्पनीहरुले मंसिरको तुलनामा पुस महिनामा १७ करोड रुपैयाँ बढी प्रिमियम शुल्क संकलन गरेका छन् ।

मंसिरमा महिनामा १२ अर्ब ३१ करोड रुपैयाँ प्रिमियम शुल्क संकलन गरेका बिमा कम्पनीले पुस महिनामा १२ अर्ब ४८ करोड रुपैयाँ संकलन गरेका हुन् ।

बिमा कम्पनीले संकलन गरेको प्रिमियम शुल्क चालु आर्थिक वर्षको ६ महिनामा ७४ अर्ब २४ करोड ५८ लाख रुपैयाँ पुगेको छ।

पुस महिनामा मात्रै १४ वटा जीवन बिमा र ३ लघु जीवन बिमा कम्पनीले ४ लाख ४८ हजार ५ सय ७८ वटा बिमालेख जारी गरेर २ अर्ब ८५ करोड रुपैयाँ प्रथम बिमाशुल्क संकलन गरेका हुन्।

मंसिर महिनामा यस्तो शुल्क २ अर्ब ३४ करोड रुपैयाँ मात्रै थियो । तुलनात्मक रुपमा पुस महिनामा प्रिमियम शुल्कसहित प्रथम बिमा शुल्क पनि धेरै उठेको हो ।

बिमा कम्पनीहरुले पुस मसान्तमा नवीकरणबाट ९ अर्ब ६२ करोड रुपैयाँ संकलन गरेका छन् ।

प्रथम बिमा शुल्क कसको धेरै ?

प्रथम बिमा शुल्क अन्तर्गत पुस महिनामा सबैभन्दा धेरै बिमाशुल्क संकलन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स पहिलो नम्बरमा छ । यस कम्पनीले पुस महिनामा मात्रै ५६ करोड २२ लाख रुपैयाँ शुल्क संकलन गरेको हो ।

दोस्रोमा ३७ करोड १४ लाख रुपैयाँसहित नेशनल लाइफ इन्स्योरेन्स छ भने हिमालयन लाइफ इन्स्योरेन्स २४ करोड १८ लाख शुल्क सहित तेस्रो नम्बरमा छ ।

यसैगरी पुस महिनामा लाइफ इन्स्योरेन्स कर्पोरेसनले २३ करोड ९९ लाख रुपैयाँ, एशियन लाइफ इन्स्योरेन्सले २१ करोड ८६ लाख, सुर्यज्योति लाइफ इन्स्योरेन्सले १७ करोड ९२ लाख, सिटिजन्स लाइफ इन्स्योरेन्सले १७ करोड ८ लाख र आइएमई लाइफ इन्स्योरेन्सले १७ करोड १३ लाख रुपैयाँ प्रथम बिमा शुल्क संकलन गरेका हुन् ।

यो बाहेक सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले १५ करोड ६२ लाख, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले १५ करोड ८६ लाख, सन नेपाल लाइफ इन्स्योरेन्सले १४ करोड २६ लाख, मेट लाइफ इन्स्योरेन्सले १२ करोड ४३ लाख, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ७ करोड ५ लाख र राष्ट्रिय जीवन बिमा कम्पनीले ३ करोड ५५ लाख रुपैयाँ प्रथम बिमा शुल्क अन्र्तगत बिमितबाट संकलन गरेका हुन् ।

यस्तै तीन लघु बिमा कम्पनीले पनि पुस महिनामा १ करोड ४३ लाख रुपैयाँ बराबरको प्रथम बिमा शुल्क संकलन गरेका छन् ।

लघु बिमाबाट उठ्यो २७ करोड रुपैयाँ शुल्क

यस्तै जीवन बिमा र लघु बिमा कम्पनीहरुले पुस महिनामा लघु बिमा जारी गरेर २७ करोड ४४ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेका छन् । १४ जीवन बिमा कम्पनी र ३ लघु बिमा कम्पनीले पुस महिनामा मात्रै २ लाख ५५ हजार ८ सय ५३ वटा लघु बिमालेख जारी गरेर २६ करोड ८ लाख रुपैयाँ प्रथम बिमाशुल्क संकलन गरेका हुन् ।

लघु बिमाबाट प्रथम बिमाशुल्क संकलन गर्नेमा पहिलोमा नेशनल लाइफ इन्स्योरेन्स छ । यो कम्पनीले १२ करोड १४ लाख रुपैयाँ प्रथम बिमाशुल्क वापत संकलन गर्दा गरेको हो ।

समग्रमा प्रथम बिमा शुल्क अन्तर्गत २६ करोड ८ लाख शुल्क संकलन गरेका लघुबिमा कम्पनीले नविकरणबाट १ करोड ३५ लाख रुपैयाँ मात्रै संकलन गरेका हुन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा लघु बिमा कम्पनीले बिमा शुल्क वापत उठाएको प्रिमियम ४० अर्ब ४४ करोड रुपैयाँ पुगेको छ।

घट्यो वैदेशिक रोजगार बिमा शुल्क

वैदेशिक रोजगार बिमा शुल्क पुसमा घटेको छ । मंसिर महिनामा ३१ करोड ४७ लाख रुपैयाँ शुल्क बापत संकलन गरेका १४ जीवन बिमा कम्पनीले मंसिर महिनामा २४ करोड ८९ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेका हुन् ।

पुस महिनासहित चालु आर्थिक वर्षको ६ महिनामा वैदेशिक रोजगार बिमालेख शीर्षकमा १४ जीवन बिमा कम्पनीले कुल १ अर्ब ४५ करोड रुपैयाँ प्रिमियम संकलन गरेका हुन् ।


क्लिकमान्डु