कर्जाको ब्याजदर एकल अंकमा आउने अवस्था बनेको छ: गभर्नर अधिकारी



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको कर्जा अब एकल अंकमा आउने बताएका छन् ।

बुधबार काठमाडौंमा राष्ट्रिय वाणिज्य बैंकको ५९ औँ वार्षिकोत्सबको अवसरमा गभर्नर अधिकारीले अर्थतन्त्रमा पछिल्लो समय हुँदै आएको सुधारको आधारमा राष्ट्र बैंकले दिएको नीतिको कारण बैंकहरुको कर्जाको ब्याजदर कम हुँदै जाने अवस्थामा रहेको बताए ।

बैंकहरुले अहिले १०.२५ प्रतिशतमा कर्जा दिनुपर्ने अवस्था रहेको उनले बताए । राष्ट्र बैंकले आगामी दिन बैंकहरुको कर्जा प्रवाह बढ्ने अपेक्षाले केही नीतिगत दरहरु घटाएको अवस्था रहेको उनको भनाइ छ ।

‘बैंकहरुको कर्जा माग वृद्धि हुने अपेक्षा छ । त्यहीअनुसार पोलिसी रेटहरु पनि घटाएका छौं । अधिकांश कर्जाहरु बैंकले १०.२५ भित्र दिनु पर्छ । विस्तारै वाणिज्य बैंकहरुको कर्जा सिङगल डिजिटमा जाने अवस्था आएको छ’ उनले भने ।

अर्थतन्त्रमा आएको सुधारको आधारमा राष्ट्र बैंकले लिने नीतिहरु सहज बनाउँदै गएको उनले बताए । तत्कालका लागि नेपाली बैंकहरु साना–साना संकटमा अफ्ठ्यारो पर्ने अवस्थामा नभएको उनको भनाइ छ ।

नेपाली बैकिङ क्षेत्र सक्षम र बलियो रहेको बताए । बैंकिङ प्रणालीलाई दिगो विकास र सुरक्षित बैंकिङ प्रणालीको रुपमा विकास गर्दै गएको उनको भनाइ छ ।

अहिले आर्थिक शिथिलता भइरहेको अवस्थामा रिकभरीमा समस्या भए पनि अन्य तथ्य र तथ्याङ्कहरुको सहयोगले अर्थतन्त्र सकारात्मक बाटोमा रहेको उनले बताए ।

‘बैंकिङ प्रणालीलाई दिगो विकास र सुरक्षित बैंकिङ प्रणालीको रुपमा विकास गर्दै गएका छौं । अहिले आर्थिक शिथिलता भइरहेको अवस्थामा रिकभरीमा समस्या भएपनि अन्य तथ्य र तथ्याङ्कहरुले सहयोग गरेको अवस्था छ,’ गभर्नर अधिकारीले भने, ‘ त्यसलाई सकारात्मक रुपमा लिनुपर्छ । अर्थतन्त्रमा भएको सुधारको आधारमा राष्ट्र बैंकले नीतिहरुमा सुधार गर्दै गएको छ ।’

बैंकहरुमा तरलता अत्यन्तै राम्रो अवस्थामा रहेको र अहिलेको आर्थिक अवस्था समग्रमा राम्रोसँग सुधार भइरहेको अधिकारीले बताए ।

‘अहिलेको आर्थिक अवस्था समग्रमा राम्रोसँग सुधार भइरहेको छ । वाह्य क्षेत्रको सुधार,बैंकिङ क्षेत्रभित्र पनि रिकभरी बाहेक अन्य कुराहरुमा ठूला समस्या देखिँदैन त्यसमा पनि सुधार हुँदै गएको छ’उनले भने ।

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठले अर्थतन्त्र सुधार भएको तथ्यांकमा नै देखिने बताए ।

उनले बैंकहरूको कर्जा लगानी बढ्ने वातावरण बन्दै गएको बताए ।

उनले राष्ट्र बैंकका नीतिगत सुधारले बैंकको कर्जा बढ्दै जाने देखिएको पनि बताए । उनले अर्थतन्त्र सुधारको अवस्था आगामी दुई/तीन महिनामा देखिने बताए । उनले पर्यटन आगमन बढ्दै गएकाले यस क्षेत्रमा बैंकको लगानी बढ्दै गएको पनि बताए ।

उनले वाणिज्य बैंकले कर्जा विस्तार १२ प्रतिशत र निक्षेप संकलन १० प्रतिशतले बढाउने लक्ष्य लिएको बताए ।

पूर्वगभर्नर डा. तिलक रावलले नेपालीको वित्तीय क्षेत्रमा सुखद् अवस्था नरहेको बताए । बैंक तथा वित्तीय ठूला संस्थाहरु मुनाफाका आधारमा अफ्ठ्यारो परेको उनले बताए । बैंक तथा वित्तीय संस्थाहरुको विगतको तुलनामा मुनाफा र प्रतिशेयर आम्दानी घट्दो अवस्थामा रहेको रावलले बताए ।


क्लिकमान्डु