नेपाललाई मध्य एसियासँग जोड्न वरुण चौधरी सक्रिय



काठमाडौं । प्रख्यात उद्योगपति तथा चौधरी ग्रुपका प्रबन्ध निर्देशक वरुण चौधरी नेपाल र मध्य एसियाबीचको कूटनीतिक र आर्थिक सम्बन्धलाई सुदृढ गर्न सक्रिय बनेका छन् ।

नेपालमा काजाकिस्तान गणतन्त्रका अवैतनिक वाणिज्यदूत पनि रहेका प्रबन्ध निर्देशक चौधरी र नेपालसमेत हेर्ने भारतका लागि काजाकिस्तानका राजदूत नुरलान झाल्गासबायेभबीच जनवरी १३ र १६ बीचमा काठमाडौंमा भेटवार्ता र छलफल भएको छ ।

चौधरीको निमन्त्रणामा झाल्गासबायेभले नेपाल भ्रमण गरेका थिए । उनको भ्रमण मुख्यतया द्विपक्षीय र बहुपक्षीय राजनीतिक सहयोगको वरिपरि केन्द्रित थियो ।

यसैबीच काजकिस्तानका राजदूत झाल्गासबायेभले चौधरीको पहलमा परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेट गरेका छन् ।

चौधरीको प्रयासले कजाकिस्तान र नेपालका परराष्ट्र मन्त्रालयहरूबीचको राजनीतिक परामर्शको स्थापनालाई समेटेर विस्तृत द्विपक्षीय सम्झौताको मस्यौदा तयार गर्ने निर्णयसमेत भएको छ ।

चौधरीको पहलमा काजाकिस्तानमा कूटनीतिक, अध्ययन, रोजगारी, पर्यटन र अन्य उद्देश्यहरू खोज्ने, राहदानी धारकहरूलाई भिसा छुटका प्रावधानहरू पनि समावेश गरिएको थियो ।

दुवै देशले व्यापार, संरक्षण र द्विपक्षीय लगानी प्रवद्र्धनमा केन्द्रित सम्झौतामा हस्ताक्षर गर्ने सम्भावना खोजि भइरहेको छ । कजाकस्तान दूतावासले आफ्नो वेबसाइटमार्फत जलविद्युत्, कृषि, सूचना प्रविधि र विद्युतीय सरकारी सेवाहरू जस्ता नेपालको विकासका लागि महत्वपूर्ण विभिन्न क्षेत्रहरूमा सहकार्य गर्न साझा प्रतिबद्धता जनाएको छ ।

प्रबन्ध निर्देशक चौधरीले दुई देशबीचको सहकार्यबाट धेरै क्षेत्रमा लाभ मिल्ने आशा व्यक्त गरेका छन् । उनले व्यापार, अर्थतन्त्र, यातायात, सञ्चार र दोहोरो कर छुटलगायत द्विपक्षीय लगानी प्रवद्र्धन जस्ता विभिन्न क्षेत्रहरूसँग सम्बन्धित चुनौतीहरू सम्बोधन गर्न सामूहिक प्रयासको महत्त्वलाई जोड दिएका छन् ।


क्लिकमान्डु