हुलास इन्फ्राद्वारा पौने २७ करोडको व्यापार, साढे १ अर्ब लगानी थपेर उद्योग विस्तार गर्दै



काठमाडौं । हुलास ग्रुपको हुलास इन्फ्राले एकै वर्ष पौने २७ करोड रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा २६ करोड ८० लाख रुपैयाँको व्यापार गरेको हो । कम्पनीले सन् २०२२ मा ११ करोड ६० लाख रुपैयाँ र सन् २०२१ मा ३ करोड १६ लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीकाअनुसार सन् २०२३ मा व्यवसायिक भवन, उद्योग र अन्य स्थायी र अर्धस्थायी भवन निर्माणका लागि प्रि–इन्जियनियरको माग बढ्दा उल्लेख्य आम्दानी गरेको जनाएको छ । कम्पनीसँग अझै ५४ करोड १० लाख रुपैयाँको अर्डर बुक पेन्डिङ छ । उक्त बुकिङ सन् २०२३ को तुलनामा दोब्बर बढी हो ।

सन् २०११ मा स्थापना भएको कम्पनी सन् २०२३ मा लिमिटेड कम्पनीमा परिणत भएको थियो । हुलास इन्फ्रा हुलास ग्रुपको सहायक स्टिल उत्पादक कम्पनी हो । कम्पनी शटर पत्तीको बिक्रीसँगै भवन बनाउनुपूर्वको प्रि–इन्जिनियरको डिजाइन, निर्माण कार्यमा संलग्न छ ।

कम्पनीले वार्षिक ८ हजार १ सय मेट्रिक टन मीड–स्टिल (एमएस) युनिट सञ्चालन गर्दै आएको छ । त्यस्तै, कम्पनीले वार्षिक ४ हजार ५ सय मेट्रिक टन क्षमताको ग्याल्भनाइज्ड आइरन (जीआई) युनिट र २ हजार मेट्रिक टन सी–जेठ पर्लिन युनिट सञ्चालन ल्याउन लगानी थप गर्ने भएको छ ।

बजारमा माग बढ्न गएपछि कम्पनीले उत्पादन क्षमता बढाउनका लागि लगानी थप गर्ने भएको हो । कम्पनीकाअनुसार डिप ग्याल्भनाइजिङ युनिट, एचआर ग्याल्भनाइजिङ युनिट, प्रि–ग्याल्भनाइज्ड पर्लिन, प्रि–ग्याल्भनाइज्ड पाइप, एचआर कोयल आदि वस्तु उत्पादन गर्ने उद्योग विस्तार गर्ने भएको छ । उक्त उद्योग विस्तारका लागि कम्पनीले १ अर्ब ६८ करोड रुपैयाँ लगानी थप गरेको हो ।

उद्योग विस्तारका लागि कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि २ अर्ब ८१ करोड ९० लाख रुपैयाँको रेटिङ गराएको छ । चन्द्रकुमार गोल्छा अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ७१ करोड ७० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब १० करोड २० लाख रुपैयाँको रेटिङ गराएको छ ।

हालसम्ममा कम्पनीले उक्त उद्योगको सञ्चालनका लागि ८१ प्रतिशत आर्थिक प्रगति गरिसकेको छ । कम्पनीले विभिन्न देशबाट कच्चा पदार्थ आयात गरी विभिन्न प्रकारका वस्तु उत्पादन आएको छ ।


क्लिकमान्डु