पोखरामा पौने २ अर्ब लगानीमा बन्दै छ ११७ युनिटको बीएनबी लेक भ्यू रिसोर्ट अपार्टमेन्ट



काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलोमिटरको दुरीमा पौने २ अर्ब लगानीमा ‘बीएनबी लेक भ्यू रिसोर्ट अपार्टमेन्ट’ बनिरहेको छ ।

सन् २०१८ मा दर्ता भएको बीएनबी कम्पनीले पोखरामा १ अर्ब ७३ करोड ५० लाख रुपैयाँ लगानीमा १ लाख ६५ हजार ५२८ वर्गफिट (३२ रोपनी) क्षेत्रफल जग्गामा अपार्टमेन्ट निर्माण गरिरहेको छ ।

११७ वटा युनिट क्षमताको अपार्टमेन्ट बनिरहे पनि डिसेम्बरसम्ममा १२ वटा युनिट मात्रै बुकिङ भएको कम्पनीले जनाएको छ । बुकिङवापत कम्पनीले २ करोड ५० लाख रुपैयाँ रकम प्राप्त गरेको छ ।

अपार्टमेन्ट बनाउनका लागि कम्पनीले ६० करोड रुपैयाँ कर्जा लगानी गर्नेछ । त्यस्तै ५१ करोड ५० लाख रुपैयाँ इक्विटीबाट र ६५ करोड रुपैयाँ ग्राहकको बुकिङबाट उठेको रकमबाट खर्च गर्ने योजना बनाए पनि अपेक्षा अनुसार बुकिङ नहुँदा स्रोतमा समस्या पर्ने देखिन्छ ।

कम्पनीले अपेक्षा गरेअनुसारको अपार्टमेन्टको बुकिङ नहुँदा अनुमानित लागतमा अपार्टमेन्ट निर्माण गर्न निकै कठिन हुने जनाएको छ । कम्पनीले अग्रिम भुक्तानीबाट ३७ प्रतिशत लगानी जुटाउने योजना बनाएको थियो । तर, हालसम्ममा अग्रिम भुक्तानीवापतको रकम लक्ष्यको १ प्रतिशत मात्रै प्राप्त भएको छ ।

‘कम्पनीले अपार्टमेन्ट निर्माणका लागि ऋण लिएको छ । उक्त ऋण समयमै भुक्तानीका लागि कम्पनीले अनुमान गरेको दर र समयमै अपाटमेन्ट बिक्री गर्ने क्षमतामा निर्भर हुनेछ,’ केयर रेटिङको रिपोर्टमा भनिएको छ ।

कम्पनीले सन् २०२३ को अगस्टसम्ममा ५६ प्रतिशत आर्थिक प्रगति हासिल गरेको छ । कम्पनीले अगाामी सन् २०२५ को जुलाईसम्ममा आयोजना सम्पन्न गर्ने लक्ष्य राखेको छ । यसअघि कम्पनीले सन् २०२४ को जुलाईसम्ममा व्यवसायिक सञ्चालन गर्ने अनुमान गरेको थियो । तर, बजारमा देखिएको मन्दीले रियल इस्टेटको कारोबारमा कमी आउँदा समय लम्बिएको छ ।

अहिले अर्थतन्त्रमा देखिएको समस्याका कारण घरजग्गा कारोबारमा सुधार आउन सकेको छैन । जसले गर्दा कम्पनीले निर्माण गर्ने अपार्टमेन्ट बिक्रीमा पनि कमी आएको देखिन्छ । त्यस्तै, कम्पनीले आगामी दिनमा माग बढ्न गएमा समयमै सम्पन्न गर्ने तयारी भइरहेको जनाएको छ ।

त्यसैगरी, नेपाल राष्ट्र बैंकले अहिले डेढ करोड रुपैयाँसम्मको व्यक्तिगत घर कर्जाको सीमा ५० लाख रुपैयाँले बढाएर २ करोड रुपैयाँ पु¥याएको छ । उक्त व्यवस्थाले आगामी दिनमा माग बढ्ने कम्पनीको भनाइ छ । साथै, राष्ट्र बैंकले व्यक्तिगत घर कर्जाको लागि जोखिम भार पनि घटाएको छ । जसले गर्दा माग बढ्दै जाने अपेक्षा गरेको छ ।

कम्पनीले अपार्टमेन्टमा बसोबासको सुविधासँगै विभिन्न सुविधा समेत उपलब्ध गराउने योजना अनुसार निर्माण गर्ने भएको छ । जसमा अपार्टमेन्टमा वल्र्ड क्यासिनो रेष्टुरेन्ट, क्याफे, बार र सुपरमार्केटको समेत सुविधा उपलब्ध हुनेछ।

कम्पनीले स्टुडियो अपार्टमेन्ट निर्माण गर्ने भएको छ । साथै, ट्राभल सर्भिस, सैलुन, ब्यूटी पार्टल, स्वीमिङ पुल, सामुदायिक हल, लेक भ्यू योगा, स्पा तथा कम्युनिटी हल तथा पर्याप्त मात्रामा पार्किङ सुविधा उपलब्ध हुने कम्पनीको भनाइ छ ।

कम्पनीको अध्यक्ष होमबहादुर बसेल हुन् । बसेलसँग २० वर्ष रियल स्टेट क्षेत्रमा काम गरेकोको अनुभव छ । बसेल बीएनबी हाउजिङ कम्पनीको निर्देशक र बीनबी इन्जिनियररिङ ग्रुप र गण्डकी मेडिकल कलेजका संस्थापक हुन् ।


क्लिकमान्डु