भारतमा मस्कले स्टारलिंकको इन्टरनेट सुरु गर्दै



एजेन्सी । अर्बपति एलन मस्कले आफ्नो कम्पनी स्टारलिंकमार्फत भारतमा इन्टरनेट सुविधा सुरु गर्ने भएका छन् । यसका लागि भारतमा उनले अनुमति आगामी साता नै पाउन सक्ने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

मस्कको स्पेसमा आधारित ब्रडव्याण्ड सुविधाको इन्टरनेट स्टारलिंक सुरु गर्नका लागि भारत सरकारसमक्ष अनुमति मागिएको छ । भारतको टेलिकम्युनिकेसन डिपार्टमेन्ट समक्ष मस्कको कम्पनीले अनुमतिका लागि दरखास्त दिएको छ । रिपोर्टकाअनुसार स्टारलिंकले आफ्नो बारेमा भारतको डिपोर्टमेन्ट फर प्रोमोसन अफ इन्डस्ट्री एण्ड इन्टरनल ट्रेड (डिपिआईआईटी) समक्ष स्पष्टीकरण पठाएसँगै भारतमा उसले सञ्चालनका लागि अनुमति मागेको खुलेको हो । भारतीय दूरसञ्चारकाअनुसार आगामी सातामा नै स्टारलिंकले अनुमति पाउने सम्भावना छ ।

मस्कले सन् २०२२ नोमेम्बरमा भारतमा ग्लोबल मोबाइल पर्सनल कम्युनिकेसन बाय सेटलाइट सर्भिसेस (सेटलाइटमार्फत विश्वव्यापी रुपमा मोबाइल फोनमा हुने सञ्चार सुविधा)का लागि आवेदन दिएका थिए ।

स्टारलिंकले अनुमति पाएको खण्डमा मस्कको कम्पनी भारतमा यस्तो अनुमति पाउने तेस्रो कम्पनी हुनेछ । यसअघि भारतमा रिलाइन्स ग्रुपको जिओ र सुनील मित्तलको वन वेबले सेटलाइटमार्फत विश्वव्यापी रुपमा मोबाइल फोनमा हुने सञ्चार सुविधाको अनुमति भारतमा पाएका छन् ।


क्लिकमान्डु