बुक बिल्डिङ विधिमार्फत सेयर निष्कासन गर्ने दोस्रो कम्पनी बन्दै रिलायन्स स्पिनिङ मिल्स



काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिमार्फत साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई बोलकबोल विधि मार्फत सेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीले पुँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशतले हुने १९ करोड २६ लाख ६० हजार रुपैयाँको १९ लाख २६ हजार ६०० कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

१९ लाख २६ हजार ६०० कित्ताको ४० प्रतिशत अर्थात ७ लाख ७० हजार ६४० कित्ता सेयर पहिलो चरणमा संस्थागत लगानीकर्ताका लागि निष्कासन हुने छ ।

कम्पनीले बोलकबोलका सेयरको बिक्री मूल्य प्रतिकित्ता ६०८ देखि ९१२ रुपैयाँसम्म तोकेको छ । संस्थागत लगानीकर्ताले सोही सीमाभित्र रहेर बोलपत्र पेश गर्नुपर्ने छ । सेयरमा संस्थागत लगानीकर्ताले माघ १० देखि १४ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

बोलकबोल परेपछि ‘कट अफ प्राइस’ निकालिन्छ । कट अफ प्राइस वा सोभन्दा बढी मूल्यमा कबोल गर्ने सबै आवेदनकलाई सेयर बाँडफाँट गरिनेछ ।

कट अफ प्राइस भन्दा १० प्रतिशत मूल्य घटाएर सर्वसाधारणका लागि सेयर निष्कासन गरिने कम्पनीले जनाएको छ । यसको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

बुक बिल्डिङ विधि मार्फत सेयर निष्कासन गर्ने यो दोस्रो कम्पनी हो । यसअघि सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधि मार्फत सेयर निष्कासन गरिसकेको छ ।


क्लिकमान्डु