बुटवल पावरको ५ प्रतिशत लाभांस स्विकृत, प्रिमियममा १ करोड कित्ता एफपीओ जारी गर्ने



काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडको ३१औं वार्षिक साधारण सभाले सेयरधनीहरुलाई आ.व. २०७९/८० को मुनाफाबाट चुक्त पूँजीको ५ प्रतिशत नगद लाभांश वितरण गर्ने लगायत संचालक समितिबाट पेश भएका सबै प्रस्तावहरु पारित गरेको छ ।

नेपाल सरकारको आंशिक लगानी रहेका कारण कम्पनी ऐन, २०६३ बमोजिम नेपाल सरकारको स्वीकृति लिएर सेयरधनीलाई नगद लाभांश यथाशक्य छिटो वितरण गरिने भन्दै साधारण सभाले कम्पनीको प्रति सेयर १०० रुपैंया दरका १ करोड कित्ता सेयर प्रचलित ऐन नियम बमोजिम प्रिमियम मुल्यमा थप सार्वजनिक निष्काशन गर्ने सञ्चालक समितिका अध्यक्ष पद्म ज्योतिले बताए । सो प्रयोजनका लागि कम्पनीको हालको जारी पूँजी ३ अर्ब ४० करोड ९० लाखलाई बृद्धि गरी ४ अर्ब ४० करोड ९० लाख पु¥याउने विशेष प्रस्ताव समेत पारित गरेको पनि कम्पनीले जनाएको छ ।

कम्पनीले संचालन गर्दै आएका ९.४ मेगावाटको आँधिखोला र १२ मेगावाटको झिमरुक जलविद्युत केन्द्रहरु नियमित रुपमा संचालन भैरहेका छन् । साथै सहायक तथा सम्वद्ध कम्पनीहरु मार्फत सन्चालित ४ मेवाको खुदी जलविद्युत केन्द्र र ६० मेवाको खिम्ती प्रथम जलविद्युत केन्द्रको संचालन सुचारु रुपमा हुँदै आएको छ ।

खिम्ती प्रथम जलविद्युत केन्द्रको स्वामित्वको आधा हिस्सा जुलाई २०२० देखी नेपाल विद्युत प्राधिकरणमा गएको छ । लमजुङ जिल्ला स्थित ३० मे.वा. को न्यादी जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भई २०७९ बैशाख २७ देखि संचालनमा आएको छ ।

नेपाल विद्युत प्राधिकरणवाट निर्माण हुनु पर्ने खुदी सबस्टेशन तथा प्रशारण लाईन निर्माणमा ढिलाई भएका कारण आयोजनाले बैकल्पिक प्रशारण लाईन निर्माण गरी विद्युत आपूर्तिको व्यवस्था गरिएको पनि कम्पनीले जनाएको छ । नेपाल विद्युत प्राधिकरणले यस आयोजनाबाट उत्पादित हुने विद्युत पूर्णरुपमा नलिएका कारण सो आयोजनाको आम्दानीमा प्रत्यक्ष असर पर्न गएको कम्पनीको दाबी छ ।

३७.६ मे.वा.को कावेली ए जलविद्युत आयोजनाको स्थानीय रुपमा वित्तीय लगानी जुटाएर निर्माण कार्य पुनः प्रारम्भ भई सन्तोषजनक रुपले कार्य प्रगति अगाडि बढीरहेको तथा आयोजनाको निर्माण कार्य २०८१ साल चैत मसान्तसम्म सम्पन्न गरी विद्युत उत्पादन हुने अपेक्षा पनि कम्पनीले गरेको छ ।

तीन चिनियाँ लगानीकर्ताहरुसंगको संयुक्त लगानीमा मस्र्याङदी नदीमा निर्माणको चरणमा रहेका आयोजनाहरुमा १३५ मेगावाटको मनाङ मस्र्याङदी जलविद्युत आयोजना, १३९.२ मेगावाटको तल्लो मनाङ मस्र्याङदी जलविद्युत आयोजना र ३२७ मेगावाटको माथिल्लो मस्र्याङदी दोश्रो जलविद्युत आयोजना क्यासकेड अवधारणामा (कुल जम्मा ६०१ मेगावाट) अगाडि बढाउने क्रममा छन् ।

मनाङ मस्र्याङदी जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापनको कार्य सम्पन्न गरि आयोजनको निर्माण कार्य चालु आवको चैत भित्रै शुरु गर्ने योजना कम्पनीको छ । त्यस्तै ७.९ मेगावाटको चिनोखोला जलविद्युत आयोजना पनि निर्माण तयारीको चरणमा रहेको र १७३.४७ मे.वा. क्षमताको अर्ध जलाशययुक्त मुगु कर्णाली जलविद्युत आयोजना अध्ययनकै क्रममा रहेको छ ।


क्लिकमान्डु