गभर्नरको नक्कली ह्वाटस एप बनाएर राष्ट्र बैंककै कार्यकारी निर्देशकसँग पैसा मागेपछि …



काठमाडौं । ‘हेल्लो, तपाईंलाई कस्तो छ ?’, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको फोटो भएको ह्वाटस एपबाट राष्ट्र बैंकका एक कार्यकारी निर्देशकलाई म्यासेज आयो । १० मिनेटसम्म कार्यकारी निर्देशकले कुनै जवाफ नदिएपछि ह्वाटस एपमै फोन आयो । उक्त फोन आएको कार्यकारी निर्देशकले थाहा पाएनन् ।

गभर्नरको फोटो भएको नम्बरबाट म्यासेज आउनुको साथै फोन पनि मिस भएपछि राष्ट्र बैंकका ति कार्यकारी निर्देशकले गभर्नरले नियमित रुपमा प्रयोग गर्ने भन्दा फरक नम्बर (+९७७९८१४४८६४४९) मा भ्वाइस कल गरे । तर, फोन रिसिभ भएन ।

फेरि गभर्नरको फोटो भएको नम्बरबाट कार्यकारी निर्देकशको मोबाइलमा म्यासेज गयो ।‘केही समय अघि तपाईंसँग सम्पर्क गर्ने प्रयास गरेको थिएँ । तपाईं अहिले कहाँ हुनु हुन्छ ?,’ म्यासेजमा भनियो ।

राष्ट्र बैंकका कार्यकारी निर्देशकले ‘सर नमस्कार’ भन्दै म्यासेज पठाए । र, भ्वाइस कल गरे । भ्वाइस कल रिसिभ नगरी कार्यकारी निर्देशकको नम्बरमा ‘अहिले मिटिङमा छु । केही समयपछि फोन गर्नेछु’ भन्ने म्यासेज आयो ।

कार्यकारी निर्देशकलाई तपाईं अहिले कहाँ हुनु हुन्छ भन्ने प्रश्न फेरि सोधियो । कार्यकारी निर्देशकले,‘केही जरुरी भए कृपया मलाई भन्नु होला’ भन्ने म्यासेज पठाए ।

त्यसको जवाफ दिँदै गभर्नरको फोटो भएको नम्बरबाट भनियो,‘ तत्काल मेरा लागि केही कारोबार गर्न मलाईं तपाईंको आवश्यकता परेको हो । आशा छ, तपाईं अहिले फुर्सदमा हुनुहुन्छ ।’ राष्ट्र बैंकका कार्यकारी निर्देशकले उक्त प्रश्नको जवाफ दिएनन् ।

५ मिनेटपछि फेरि प्रश्नवाचक चिह्नसहितको म्यासेज आयो । त्यसको पनि कुनै जवाफ कार्यकारी निर्देशकले दिएनन् । आर्थिक कारोबार गर्नु पर्ने आशयसहित म्यासेज आएपछि राष्ट्र बैंकका ती कार्यकारी निर्देशकले गभर्नरले नियमित प्रयोग गर्ने मोबाइलमा फोन गरे ।

गभर्नर महाप्रसाद अधिकारीले आफूले नयाँ नम्बरबाट म्यासेज नै नगरेको बताएपछि उनको फोटो दुरुपयोग गर्दै ह्वाटस एफ एकाउन्ट खोलेर बजारबाट पैसा उठाउन खोजिएको खुलेको हो ।

राष्ट्र बैंकका ती कार्यकारी निर्देशकलाई जसरी नै राष्ट्र बैंकका अन्य कर्मचारीलाई समेत फेक ह्वाटस एफ नम्बरबाट पैसा माग्दै म्यासेज गरिएको फेला परेको छ ।

गभर्नर अधिकारीको फोटो प्रयोग गर्दै खोलिएको फेक एकाउन्टबाट राष्ट्र बैंकका एक उपनिर्देशकलाई समेत रकम माग गर्दै म्यासेज गरिएको थियो । आफू अहिले एक मिटिङमा रहेकाले अनलाइन कारोबार गर्न सक्ने अवस्थामा नरहेको र आफूले भनेको एक खातामा ८० हजार रुपैयाँ पठाउन म्यासेजमा आग्रह गरिएको छ ।

‘आज बेलुका वा भोलि बिहानसम्म म पैसा फिर्ता गर्नेछु, अहिले मैले भनेको खातामा ८० हजार रुपैयाँ हालिदिन सक्नु हुन्छ ?’, फेक ह्वाट्स एप एकाउन्ट उपनिर्देशकको मोबाइलमा पठाइएको ह्वाट्सएप म्यासेजमा भनिएको छ ।

राष्ट्र बैंकका ति कर्मचारीले यो खाता ‘फेक हो वा बास्तबिक’ भनेर प्रश्न गर्दा किन यस्तो प्रश्न सोध्यौं भन्ने प्रतिप्रश्न फेक ह्वाट्सएप प्रयोगकर्ताले गरेका छन् ।

‘अहिले ठगीका घटना धेरै आएका छन् । हाम्रो गभर्नरले यसरी पैसा मागेको अहिलेसम्म थाहा छैन,’ राष्ट्र बैंकका ति उपनिर्देशकले म्यासेज लेखे,‘तर पनि तपाईं आफ्नो डिटेल जानकारी दिनु, मेरो खातामा पैसा रहेछ भने पठाउने छु ।’ त्यसपछि फेक ह्वाट्स एप प्रयोगकर्ताले आफूले अर्को व्यक्तिबाट समस्या समाधान(रकम माग्ने) गर्ने भन्दै फेरि म्यासेज पठाए । त्यसपछि भने ति उपनिर्देशकलाई उक्त नम्बरबाट म्यासेज आएन ।

राष्ट्र बैंकका गभर्नर अधिकारीले आफ्नो फोटो प्रयोग गरेर फेक ह्वाटस् एप एकाउन्ट खुलेको विषय शनिबार मात्रै थाहा पाएको बताए ।

राष्ट्र बैंकले दियो साइबर ब्यूरोमा उजुरी

राष्ट्र बैंकका गभर्नर अधिकारीको फोटो प्रयोग गर्दै खोलिएको ह्वाटस एफ एकाउन्टबाट विभिन्न व्यक्तिलाई म्यासेज गर्ने र पैसा माग्ने गरिएको जानकारी प्राप्त भएपछि गभर्नर कार्यालयले नेपाल प्रहरीको साइबर ब्यूरोमा आइतबार उजुरी दिएको छ । यस्तै, राष्ट्र बैंकले समाजिक सञ्जाल फेसबुक/ एक्समा समेत राष्ट्र बैंकका गभर्नर अधिकारीको फोटो दुरुपयोग गर्दै ह्वाटस एप एकाउन्ट बनाएको जानकारी दिएको छ ।

‘यस बैंकका गभर्नर श्री महाप्रसाद अधिकारीको नाम र तस्वीर दुरुपयोग गरी ह्वाटस एप एकाउन्ट बनाएर विभिन्न व्यक्तिसँग संवाद गरेको पाइएकोले यसप्रति सजग रहन सम्बन्धित सबै सरोकारवाला र सर्वसाधारणामा अनुरोध छ,’ राष्ट्र बैंकको अधिकारीक सामाजिक सञ्जालमा भनिएको छ ।

अधिकारीको फेक एकाउन्ट खुलेको जानकारी पछि गभर्नर कार्यालयले उक्त एकाउन्ट बन्द गर्ने र गलत गतिबिधिमा संलग्नलाई कारबाही गर्न माग गर्दै साइबार ब्यूरोमा उजुरी दिएको हो ।

वित्तीय सचेतना सम्बन्धि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको राष्ट्र बैंकका उच्च अधिकारीहरु माथि नै फर्जी एकाउन्टमार्फत् ठगीको प्रयास हुनु गम्भीर भएको जानकारहरु बताउँछन् ।


शरद ओझा