अन्तत: गले कुलमान- २२ दिनपछि उद्योगमा बिजुली जोड्ने निर्णय



काठमाडौं । सरकारको निर्णयपछि नेपाल विद्युत प्राधिकरणले उद्योगहरुमा काटिएको बिजुलीको लाइन जोड्ने भएको छ ।

शुक्रबार बिहान बसेको प्राधिकरण सञ्चालक समितिको ९६० औं बैंठकले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता नतिरेको भन्दै काटिएको बिजुलीको लाइन जोड्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको बैठकको निर्णयसम्बन्धी पत्र बिहीबार ऊर्जा मन्त्रालयबाट प्राप्त भएपछि शुक्रबार प्राधिकरण सञ्चालक समितिको बैठक बसेको थियो ।

मन्त्रिपरिषद्को गत मंगलबारको बैठकले डेडिकेटेड र ट्रंक लाइनको महसुल विवाद समाधानका लागि जाँचबुझ समिति बनाउँदै तत्काल बिजुली काटिएका उद्योगहरुमा लाइन जोड्न निर्देशन दिएको थियो । तर प्राधिकरणले ४ दिनदेखि बिजुलीको लाइन जोडेको छैन ।

सरकारले निर्णय गरे पनि लाइन नजोडिएको भन्दै पीडित तथा प्रताडित उद्योगी समूहले सरकारले जाँचबुझ आयोग गठन गर्नु सकारात्मक भए पनि प्राधिकरणले उद्योगमा विद्युत नजोड्नु दुर्भाग्यपूर्ण भएको भन्दै विज्ञप्ति निकालेका थिए ।

प्राधिकरणका अनुसार शुक्रबार बिहान बसेको प्राधिकरण बोर्ड बैठकले व्यवस्थापनलाई बिजुलीको लाइन जोड्न निर्देशन दिएको हो ।

‘बोर्डले निर्देशन दिएपछि बिजुली जोड्ने काम आजैबाट हुन्छ’ प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले भने, ‘बोर्डको निर्देशनको पत्र हरेक वितरण प्रमुखहरुका पुगेपछि लाइन जोडिन्छ ।’

प्राधिकरणले पुस ६ गतेदेखि उद्योगहरुमा बिजुलीको लाइन काट्न सुरु गरेक थियो । अहिलेसम्म प्राधिकरणले २४ उद्योगको बिजुली काटेको छ । प्राधिकरणले ६१ उद्योगबाट २२ अर्ब २४ करोड रुपैयाँ बक्यौता उठान बाँकी रहेको दाबी गर्दै आएको छ ।
उद्योगीहरुले भने बिजुली प्रयोग गरेको तथ्यांक टीओडी (टाइम अफ डे) मिटरको डेटा उपलब्ध गराए आफूहरु बक्यौता तिर्न तयार रहेको बताउँदै आएका छन् ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगहरुको बक्यौता रकम जसरी पनि उठाउने बताउँदै आएका थिए । तर, सरकारले समिति गठन गर्दै उद्योगहरुमा तत्काल बिजुली जोड्न निर्देशन दिएपछि कुलमान पछि हटेका हुन् ।


क्लिकमान्डु