मुक्तिनाथ दर्शनले केबलकार निर्माणका लागि बुझायो नयाँ डीपीआर, अनुमानित लागत ५५ अर्ब



काठमाडौं । मुक्तिनाथ दर्शन प्रालिले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अद्यावधिक गरी लगानी बोर्ड नेपालमा बुझाएको छ । कम्पनीले वातावरणीय प्रभाव मूल्यांकन तथा अद्यावधिक डीपीआर लगानी बोर्डमा बुझाएको हो ।

अद्यावधिक डीपीआरअनुसार ८१.०१४ किलोमिटर लामो केबलकार निर्माणका लागि ५५ अर्ब १८ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।

मुक्तिनाथ दर्शन प्रालिका अध्यक्ष अरुणकुमार सुवेदीले बुधबार बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टलाई डीपीआर बुझाएका छन् । कम्पनीले जेठबाट वातावरणीय प्रभाव मूल्यांकनको काम थालेको जनाएको छ ।

साढे ५ वर्षअघि नै बोर्ड र कम्पनीका प्रतिनिधिले केबलकार निर्माण तथा सञ्चालनसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । त्यसबेला केबलकार निर्माण लागत ३९ अर्ब २० करोड रुपैयाँ अनुमान गरिएको थियो ।

कास्कीको सेराबेसीबाट मुस्ताङको मुक्तिनाथ मन्दिरनजिकै पर्ने रानीपौवासम्म केबलकार सञ्चालन गर्ने कम्पनीको तयारी छ ।


क्लिकमान्डु